विदेश

प्रम ओलीभन्दा अगाडी किम जोङ उन बेइजिङमा पुगे

प्रम ओलीभन्दा अगाडी किम जोङ उन बेइजिङमा पुगे

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् ।  किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटेर गत हप्ता सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्ताको विषयमा कुराकानी गर्ने बताइएको छ ।

 

यो वर्ष किमको तेस्रो चीन भ्रमण हो । चिनियाँ मिडियाका अनुसार उनी दुई दिन त्यहाँ बस्ने बताइएको छ । यसअघि किम फर्केपछि मात्र उनीबारे समाचार प्रकाशित गर्ने चीनले यसपटक भने उनी आउनासाथ समाचार प्रकाशन गरेको हो ।

 

आजै प्रधानमन्त्री केपी शर्मा ओली पनि चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । यता, अमेरिका र सिओलले दुई देशबीच हुने नियमित सैन्य प्रशिक्षणलाई स्थगित गर्ने निर्णय गरेका छन् ।

 

किमसँगको भेटका दौरान कोरियाली प्रायद्वीप परमाणुविहीन बनाउने विषयमा सहकार्य गर्न ट्रम्पले प्योङयाङ र बेइजिङले आपत्ति जनाउँदै आएको ‘युद्धको खेल’ बन्द गर्ने ग्यारेन्टी दिएका थिए ।

 

त्यसै अनुरुप दक्षिण कोरिया र पेन्टागनले अगस्तमा हुने भनिएको फ्रिडम गार्जियन मिलिटरी ड्रिल स्थगन गरेको हो । किमको पछिल्लो चीन भ्रमणलाई कुटनीतिक वृत्तमा निकै चाँसोका साथ हेरिएको छ । चीनले यसअघि नै वासिङटन र प्योङयाङबीच भएको सम्बन्ध सुधारलाई स्वागत गर्दै आफूहरुले यसमा सक्दो सहयोग गर्ने बताइसकेको छ । 

किम जोङ उन बेइजिङ

विशेष