कला साहित्य भिडियो News कभर स्टोरी अन्तरवार्ता

प्राज्ञ अमर गिरीको असन्तुष्टिः प्रज्ञा प्रतिष्ठानलाई गाभ्ने निर्णय सरकारले फिर्ता लिनुपर्छ (भिडियोसहित)

प्राज्ञ अमर गिरीको असन्तुष्टिः प्रज्ञा प्रतिष्ठानलाई गाभ्ने निर्णय सरकारले फिर्ता लिनुपर्छ (भिडियोसहित)

अमर गिरी मूलतः प्रगतिशील धारका सशक्त कवि हुन् । दाङको रामपुरमा जन्मिएका उनी लामो समय राजनीति र पत्रकारितामा क्रियाशील रहे । प्रगतिशील लेखक संघको पूर्वअध्यक्ष गिरी हाल नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य विभाग प्रमुख भई प्राज्ञिक क्षेत्रको काममा सक्रिय छन् । 

 

प्रज्ञा प्रतिष्ठान विभिन्न समयमा विवादमा तानिने गर्छ ।प्रतिष्ठानले उपलब्धिपूर्ण काम गर्न सकेन भन्ने एकपक्षको आरोप छ । यही समय तीन प्राज्ञिक क्षेत्रहरूलाई गाभेर एउटै प्रतिष्ठान बनाउने सरकारको निर्णय छ । प्रज्ञा प्रतिष्ठानको विषय र उनको समग्र साहित्यिक जीवनमा केन्द्रित रहेर नेपाल आजसँग गरिएको कुराकानीको सार यहाँ उल्लेख गरिएको छ ।


 


कविता, राजनीति र पत्रकारिता

राजनीति, साहित्य र पत्रकारिता तीन वटै मेरा चासोका क्षेत्र हुन् । पत्रकारितासँग म कुनै न कुनैरूपमा अहिले पनि जोडिएको हुन्छु । दाङमा हुँदा लामो समयसम्म पत्रिकाको सम्पादक भएर काम गरेँ । अहिले पनि पत्रकार महासंघको सदस्यता मसँग छ । अहिले अखबारी लेखनबाट पनि पत्रकारितामा जोडिएको छु ।


राजनीतिको सन्दर्भमा मैले विद्यार्थी राजीनीति र पार्टी राजनीति दुवै गरेँ । अहिले पार्टीको राजनीतिक आन्दोलनसँग कुनै न कुनै रूपमा जोडिएको छु । धेरैजसो समय साहित्यमा बिताएपनि राजनीतिमा मैले विभिन्न समयमा योगदान पु¥याएको छु । ०३६ साल र ०४६ सालको जन–आन्दोलनमा मैले दाङमा बसेरै भूमिका निभाएँ । २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा भने म काठमाडौंमा थिएँ ।

 

त्यसबेला मैले महत्वपूर्ण भूमिका निर्वाह गरेँ । लोकतान्त्रिक स्रस्टाहरूको संयुक्त मञ्च भन्ने संस्थाको निर्माण हामीले ग¥र्यौँ । त्यसमार्फत हामीले लोकतन्त्रका निम्ति संघर्षलाई अगाडि बढायौँ  । पार्टी राजनीतिलाई अगाडि बढाउने क्रममा पनि दाङमा पार्टी सचिवको हैसियतमा काम गरेँ । त्यसैले राजनीति र पत्रकारिता अहिले पनि मेरो सहभागिता र चासोको विषय हो । 

 


 


 

कृष्णसेन इच्छुकलाई सम्झँदा
कवि कृष्णसेन इच्छुक र म जति नजिक रह्यौँ त्यति नजिक सायद कोही रहेन जस्तो लाग्छ । सबैभन्दा लामो समय हामी पार्टीमा सँगै रह्यौँ । पहिले हामी दुवै माओवादी पार्टीमा थियौँ । पछिल्लो समय मैले माओवादी छाडेर एमालेमा प्रवेश गरेँ । तर, पनि हामीबीचको दूरी बढेन । सबैभन्दा बढी छलफल, विमर्श र अन्तरंग कुराकानी हामी परस्परमा गर्ने गर्दथ्र्यौँ । आपसमा दुःख सुख साटासाट र सहयोग गर्ने काम हामी गर्दथ्यौँ । उहाँ अत्यत्नै सरल र सहृदयी  स्वभावको हुनुहुन्थ्यो । एक राजनीतिक व्यक्तित्व, कवि र अब्बल पत्रकार हुनुहुन्थ्यो । उहाँसँग भएको कतिपय गुण म आफैँमा भेट्दिनँ । साथै संगठनको क्षेत्रमा पनि सफल र महत्वपूर्ण व्यक्तिको रूपमा लिन सक्छौँ । 


कृष्णसेन इच्छुक साहित्य प्रगतिशील क्षेत्रको मात्र नभएर सिंगो नेपाली साहित्यको फाँटको माझिएको प्रतिभा हुन् । उहाँका कविताहरू नेपाली कविताका महत्वपूर्ण प्राप्ति हुन् । उहाँलाई पर पन्छाएर समग्र नेपाली कविताको नै मूल्यांकन हुन सक्दैन । 

आदर्श प्रति, मूल्यप्रति प्रतिबद्ध व्यक्ति भएकै कारण उहाँ सहिद हुनुभयो । माओवादी आन्दोलनको समयलाई हेर्ने हो भने  कति व्यक्तिहरू कागज गरेर छुटेका छन् । तर, त्यस्ता व्यक्तिहरूले अहिले पार्टीको नेतृत्व गरिरहेका छन् । तर, आन्दोलन  जनताप्रति बेइमानी गर्नु हुन्न भन्ने आदर्शकै कारण उहाँले कागज गर्न र गोप्य कुरा खोल्न मान्नुभएन । कुरा नखोलेका कारण अत्यधिक चरम शारीरिक र मानसिक यातनाले उहाँको मृत्यु भयो । यदि उहाँले कुरा खोलिदिनु भएको भए सायद जीवित हुनुहुन्थ्यो । तर, उहाँले मूल्य र आदर्शलाई बिर्सनुभएन । हामीले उहाँबाट सिक्ने मूल कुरापनि यही नै हो । जसरी उहाँले आफूलाई नेपाली समाजमा परिवर्तनको निम्ति समर्पित गर्नुभयो, आदर्शलाई वरण गरी मूल्यप्रति दृढ रहनुभयो । साँच्चै एउटा परिवर्तनकारी व्यक्तित्वको जीवन वरण गर्नुभयो । 

 

आजको नेपाली राजनीति मूल्य विघटनको सिकार छ । आदर्शमा स्खलन आएको छ । अनेकौँ विकृति, विसंगति र विरोधाभासहरू राजनीतिक आन्दोलनमा देखिरहेका छौँ । मूल्यको भयावह स्खलनविरुद्ध हामी जुध्न सकेनौँ भने परिवर्तनको मर्मअनुसार नेपाली समाजलाई बदल्न सक्दैनौँ । यसको लागि त पहिले आफू बदलिनु पर्छ । मूल्यप्रति दृढ रहन सक्नुपर्छ । यो कुरा हामीले कृष्णसेन इच्छुकबाट सिक्न सक्छौँ । उहाँसँगको व्यक्तिगत सम्बन्धको बारेमा त धेरै कुराहरू छन् । तर, उनको समग्र जीवनलाई हेर्ने हो भने त्यो मेरो निम्ति असाध्यै महत्वपूर्ण छ । 

 


 

प्रगतिशील लेखक संघमा मेरो कार्यकाल
म लामो समय प्रगतिशील लेखक संघमा जोडिँदै आएँ । यसभन्दा अघिल्लो कार्यकाल मैले प्रगतिशील लेखक संघको नेतृत्व गरेँ । लेखकहरूको संस्था भएको हुनाले यसको एउटा काम भनेको वैचारिक संघर्ष र विचाधारात्मक काम हो । विचारधारात्मक काममा जति अगाडि जान सकिन्छ त्यति नै उपलब्धि हासिल गर्न सकिन्छ भन्ने मेरो मान्यता थियो । त्यसैगरी स्रस्टाहरूको बीचमा यसलाई संगठित गर्नुपर्छ भन्ने मेरो धारणा थियो । मेरो कार्यकालमा संघको एकाइ जिल्ला शाखाहरूमा विस्तार भयो । 

 

मुलुकमाथि वाह्य उत्पीडन बढेर आएको छ । त्यस उत्पीडनको प्रतिवाद प्रगतिशील लेखक संघका स्रस्टाहरूले गर्नुपर्छ । यसको प्रतिवाद भनेको मूलतः विचारधारात्मक संघर्ष नै हो । यसको माध्यमबाटै वाह्य हस्तक्षेपको प्रतिवाद गरेर जानसक्छौँ । त्यसैगरी साहित्यलाई बजारअनुकूल बनाएर लिए जाने, साहित्यलाई साहित्यको मूल्यबाट विस्थापित गर्ने, साहित्यको सौन्दर्यपरक भूमिकाबाट त्यसलाई च्युत गर्नेजस्ता प्रवृत्तिहरू जुन अहिले भइरहेका छन् ।

 

यसलाई प्रतिवाद प्रगतिशील स्रस्टाहरूले गर्दै जाने हो । साहित्यले मानिसको भूमिकालाई जीवन्त बनाउने र जीवनलाई सुन्दर बनाउने काम गर्नुपर्छ । यदी जीवनलाई तलतिर लैजाने साहित्य छ भने त्यसको साहित्य पढ्नुको अर्थ छैन । यसको प्रतिवाद गर्नका लागि प्रगतिशील लेखकहरूको भूमिका आवश्यक छ । मैले मेरो कार्यकालयमा यो विषयलाई महत्व दिएँ । यसको विषयमा देशको विभिन्न ठाउँहरूमा गोष्ठी सञ्चालन गरियो । गम्भीर ढंगले बहस चलाइयो । त्यसैगरी स्रस्टाहरूले स्तरीय रचनाहरू लेख्नुपर्छ भन्ने मान्यतालाई अघि सार्दै हामीले विभिन्न कार्यक्रमहरूमा यी कुराहरूलाई ध्यान दियौँ ।  


 

प्रगतिशील यथास्थितिवादी हैनन्
समग्र नेपाली साहित्यलाई गुट र  उपगुटले बिगारिरहेको छ । राम्रो काममा गुटको प्रयोग भएको छैन । प्रगतिशील लेखकहरूले नारा लेख्छन् भनिन्छ यो सत्य होइन । प्रगतिशील लेखकहरू राम्रा र कमजोर दुवै रचनाहरू लेखिरहेका छन् । कमजोर रचनालाई नारा भनिएको हुनसक्छ । तर, कमजोर रचना त अरूले पनि लेखिरहेका छन् ।

 

साहित्यिक आन्दोलनलाई मूल्यांकन गर्दा सबैबाट उतिकै सशक्त रचनाको अपेक्षा गर्न सक्दैनौँ । र यो व्यवहारमा सम्भव छैन । निकै स्रष्टाहरूले राम्रो लेखिरहनु भएको छ । हामी राम्रो लेख्ने स्रष्टाहरूको लेखनलाई एकै ठाउँमा राखेर मूल्यांकन गर्छौँ । तर, यहाँ कमजोर रचनाहरू हेरेर त्यसैबाट मूल्यांकन गरिदिने प्रवृत्ति छ । राम्रा रचनाहरूलाई नहेरी कमजोर रचनाहरूबाट गरिएको मूल्यांकन नियतवस आलोचना गरिएको देखिन्छ । प्रगतिशील लेखक संघ र स्रष्टाहरूको लेखनलाई मूल्यांकन गर्ने हो भने निकै बलियो देखिन्छ । जस्तै कवितामा विमल निभा, श्यामल, आहुति हुनुहुन्छ भने नयाँ पुस्तामा विनोदविक्रम केसी, सरिता तिवारीदेखि लिएर सरिता तिवारीलगायत दर्जनौँ नामहरू अगाडि राख्न सकिन्छ । यसकारण प्रगतिशील लेखकहरू कमजोर छैनन् भन्ने बलियो प्रमाण हामीसँग छ । 

 


 

प्रज्ञा प्रतिष्ठानलाई नियतवस विवादमा ल्याइन्छ
नेपाल प्रज्ञा प्रतिष्ठानलाई हरेक समय आलोचनामा ल्याउने काम भइरहेको छ । केही कमजोरीहरू त प्रतिष्ठानको पनि होलान् । तर, संस्थाको समग्र कामको भूमिकालाई लिएर आलोचना गरिन्छ यो स्वस्थ र रचनात्मक छैन । यो आग्रहयुक्त आलोचना हो । मेरो हाम्रो कार्यकालभरी विभागलाई बढो मसिनोसँग केलाउन प्रयत्न गरेको गरेँ । यसबीचमा मैले बुझेको विवाद आफैँ आउदैँन, यो त नियतवस ल्याउने काम गरिन्छ । यदि कमजोरीहरूको आलोचना गरिन्छ भने उसले गरेका कामहरूको प्रशंसा पनि गर्न सक्नुपर्छ ।

 

तर, यहाँ प्रतिष्ठानले गरेको राम्रा कामहरूको चर्चा गरिन्न । कयौँ आलोचना गर्ने मानिसहरूलाई प्रज्ञा प्रतिष्ठानले के–के पुस्तक निकालेको छ भन्नेसमेत थाहा छैन । थाहै नभइकन अरूले भनेको आधारमा, अरूले फिँजाएको हल्लाको आधारमा लेख लेख्ने मानिसहरू छन् ।  यदि प्रतिष्ठानप्रति आलोचना गर्ने हो भने यसले गरेका कामहरू केलाउन जरुरी छ । यसले के गर्न सकेन त्यसलाई प्वाइन्ट गर्नुपर्छ । र कसरी जाँदा ठीक हुन्छ भनेर सुझाव दिन जरुरी छ । तर, त्यस्तो गरिन्न । 

 

सरकारले प्रतिष्ठानलाई वार्षिक १० करोड जति दिन्छ । यो रकम पर्याप्त रकम होइन । कम रकमले भनेजस्तो काम गर्न सजिलो छैन । प्रज्ञा प्रतिष्ठानको प्राज्ञिक काम प्रभावित हुनुको महत्वपूर्ण कारण हो यो । कुनैपनि संस्थाको समग्र भूमिकाको कुरा गर्दा धेरै कुराहरूको ख्याल गर्नुपर्छ । एकथरीले भन्छन् कि प्रज्ञा प्रतिष्ठानमा पार्टीका मान्छेहरू गए । अयोग्य मानिस प्रज्ञा प्रतिष्ठानमा गयो भनेर भनिरहेका छन् । यो सानो मुलुकमा धेरैको योग्यता हामीले देखेका छौँ । यहाँ कोहीपनि अयोग्य छ्रैनन् । सबै आ–आफ्नो क्षेत्रबाट अनुभव सम्हालेर आएका छन् । तर, बाहिरबाट नकारात्मक आलोचना भइरहेको छ । प्रतिष्ठानले धेरै कामहरू गरेको छ । प्रमाणस्वरूप विभिन्न कृतिहरू प्रकाशित गरिरहेको छ । विभिन्न गोष्ठी र विचार विमर्शहरू गर्दै आइरहेको छ । यसरी विमर्श गर्दा प्रतिष्ठान  गोष्ठी र विमर्शमा मात्र अल्झियो भनेर आलोचना आउँछ । यदि यो गोष्ठी र विमर्श गरेन भने फेरि गरेन भनेर नै आलोचना हुन्छ । 
 

 


 

सरकारले निर्णय फिर्ता लिनुपर्छ
 हिजो धेरै छलफल र विमर्श भयो । ०६२÷०६३ को जनआन्दोलन भन्दापनि धेरै अगाडिदेखि  कुरा उठ्दै थियो । हिजो जुन आधारमा तीन प्रतिष्ठानको आवश्यकता देखियो त्यही आधार अहिले समाप्त भइसकेको छैन । मुलुक संघीयतामा गइसकेको छ । अब प्रदेशस्तरमा पनि एकेडेमीहरू बन्छन् । एकेडेमीहरू धेरै हुँदा केन्द्रीय एकेडेमीको भूमिका कम हुन्छ भन्ने एउटा तर्क होला । तर, केन्द्रको भूमिका कम हुने होइन । प्रदेशस्तरको एकेडेमी र केन्द्र स्तरको एकेडेमीको भूमिका फरक फरक हुन्छ । तीनवटा एकेडेमीलाई एउटैमा गाभ्ने कुनै बलियो तर्क र आधार देखिन्न । 

 

सरकारले आर्थिक भार कम गर्ने उद्देश्यले मर्ज गर्ने निर्णय गरेको हुनसक्छ । त्यसैगरी तीनवटा एकेडेमी एउटैमा मर्ज गर्दा झन् मजबुत तरिकाले काम गर्न सकिन्छ भन्ने सरकारको बुझाइ हुनसक्छ । तर, सरकारले आफ्नो निर्णय परिवर्तन गर्नुपर्छ । किनकि धेरै स्रष्टा र बुद्धिजीविहरूले यो निर्णयप्रति आपत्ति जनाएका छन् । संस्कृतिमन्त्रीले पनि निर्णय परिवर्तन हँुदैन भनेर भन्नुभएको छैन । निष्कर्षमा के हो भने सरकारले आफ्नो निर्णय फिर्ता लिनुपर्छ । 

साहित्य अमर गिरी प्रज्ञा प्रतिष्ठान

विशेष