कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य
काठमाडौं । बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । कृषकलाई कृषि बीमाप्रति आकर्षण गर्न समितिले यस्तो व्यवस्था गरेको हो । कृषि बीमा गरेका कृषकहरुको दुई लाखसम्म दुर्घटना बीमा हुन्छ । दुर्घटनामा परेर मृत्यु हुने कृषकले मात्रै यस्तो योजनाबाट क्षतिपूर्ति बापतको रकम पाउनेछन् ।
बीमा समितिका उपनिर्देशक कुन्दन सापकोटाका अनुसार कृषि बीमा गर्दा अनिबार्य रुपमा कृषकको पनि दुर्घटना हुने व्यवस्था गरिएको छ । हालैबाट कार्यान्वयनमा आएको यो बीमा योजनापछि कृषि बिमा गर्ने कृषकहरुको सख्ंया पनि बढेको सापकोटा बताउँछन् । गत वैशाखदेखि यो व्यवस्था लागू भएको हो ।
समितिले सम्पूर्ण बीमा कम्पनीहरुलाई कृषि बीमा गर्दा अनिवार्य रुपमा दुर्घटना बीमा गर्न निर्देशन दिइसकेको छ । सापकोटाले भने, ‘अहिले एकै घरका विभिन्न पशु र बालीनालीको छुट्टाछुट्टै ब्यक्तिको नाममा बिमा हुने क्रम बढेको छ, कृषि बीमासँगै दुर्घटना बीमा पनि जोडेपछि यस्तो क्रम बढेको हो ।’
दुर्घटना बीमा पनि जोडिएर आएपछि कृषि बीमामा कृषकहरुको आकर्षण बढेर गएको छ । दुर्घटना बीमाको अवधि कृषि बीमाको अवधि बराबरको हुनेछ ।
कृषि बीमा