News देश

गाडी चढ्ने रहरले गहना बेचेर सडक निर्माण

गाडी चढ्ने रहरले गहना बेचेर सडक निर्माण

फार्इल तस्वीर

बझाङ । तलकोट गाउँपालिकाका स्थानीयले सुनका गहना बिक्री र कमाइखाने जग्गा बन्धकी राखेर ६ किलोमिटर सडक निर्माण गरेका छन् । तलकोट –५ का खौला, बेतकाला, भण्डारी र कोट गाउँका स्थानीयले यसरी ६ किलोमिटर सडक निर्माण गरी गाउँमै गाडी पु-याएका हुन् ।

 

सडक निर्माण खर्च जुटाउन सात तोला सुनका गहना बिक्री र जग्गा बन्धकी समेत राख्नुपरेको स्थानीयले बताए । एक सातादेखि सो सडकमा जिप गुड्न थालेका छन् ।

 

‘सडकका लागि जमिन कटान गर्न थालेको ४ वर्ष भएको थियो । गाउँलेले श्रमदान र चन्दा दिएकै थिए । तर गाउँपालिकाबाट सहयोग पाइएन । धैरै वर्ष भयो अब त जसरी पनि काम फत्ते गर्नुपर्छ भनेर सक्नेले श्रीमतीका गहना पनि बेचेर सडक बनाउन पैसा दियौं,’ तलकोट–५ का अम्मरराज जोशीले भने ।

 

उनले पनि श्रीमतीले नाक, कान र घाँटीमा लगाएका दुई तोलाजति सुनका गहना बेचेर सडक निर्माणमा सहयोग गरेको बताए । उनीजस्तै सक्नेजति अन्यले पनि यसरी नै गहना बेचेर सडक बनाउन खर्चिएका हुन्।

 

जोशीले भने, ‘वषौंदेखि बजारबाट घरमा नुनदेखि खाद्यान सबै पिठ्युँमा बोकर खानुपथ्र्यो । यो दुःख हटाउन र घरआँगनबाटै गाडी चढेर सदरमुकाम चैनपुर पुग्ने रहर पूरा गर्न हामीले आफ्नै पहलमा रुपातोलादेखि खौलासम्म ६ किलोमिटर सडक निर्माण गरेका हौं । अहिले सडकमा जिप पनि गुड्छ । ‘सिंहदरबारको अधिकार गाउँमा’ भन्थे तर ‘गाउँको सिंहदरबार’ ले जनताको विकासमा चासो दिएको छैन ।’

 

स्थानीय राम भण्डारीले देशमा धेरै सरकार फेरिए, चुनावमा धेरै नेताका चिल्ला भाषण पनि सुनिए, गाउँमा सिंहदरबार आयोभन्दा दंग पनि परियो तर आफूहरूको पिठ्युँमा भारी छुटाउन कसैले पनि पहल नगेरपछि गाउँलेले चन्दा संकलन, श्रमदान, गहना बिक्री र जग्गा बन्धकी राखेर सडक खनी घरआँगनमा गाडी पुर्याएको बताए ।

 

उनले भने, ‘गाउँका धेरैले सडक निर्माण गर्न चन्दा दिए, सुनका गहना बिक्री गरे, गरीखाने खेत बिक्री र डिक बन्धकी राखे, विदेश गएकाले उतैबाट पैसा पठाइदिए, कति चन्दा दिन नसकेर आफैं सडक खन्न जुटे ।

सडक निर्माण बझाङ

विशेष