News

भगौडा डोलिन्द्रको चुरीफुरी अवैध सम्पत्ति धुरीधुरी

काठमाडौंका गल्ली–गल्लीमा ट्याक्सी चलाउने डोलिन्द्र रातारात भए करोडपति !

भगौडा डोलिन्द्रको चुरीफुरी अवैध सम्पत्ति धुरीधुरी

काठमाडौं । साझा प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्मा  तत्कालीन माओवादी सशस्त्र द्वन्द्वताका नेपाल प्रहरीको असई हुन् । द्वन्द्वकै कारण ज्यान जाने त्रासले उनले उक्त जागिर छोडेर भगौडाको उपाधि पाएका थिए । 


बागलुङमा निम्नवर्गीय परिवारमा जन्मिएका डोलिन्द्रको घर बागलुङ बजारभन्दा केही टाढा छ । उनको घर सदरमुकामदेखि पैदल जाँदा करिब डेढ घन्टाको दुरीमा पर्छ । उक्त घरमा अहिले पनि उनकी आमा बस्छिन् । केही रोपनी जग्गा जमिन भए पनि उनको घरमा  सधँैजसो आर्थिक संकट भने परि नै रहने उनकै आफन्तहरू बताउँछन् । 


भएको केही रोपनी जग्गामा पनि उनका दाजुभाइबीच अंशबण्डा गरिएपछि डोलिन्द्रको भागमा थोरै जमिन परेको थियो । त्यही जमिनको भरमा उनकी श्रीमतीले बिहान बेलुकाको जोहो गर्दै आइरहेकी थिइन् ।


स्वभावले भाडाका गाडीका सहचालक झैँ उद्दण्ड देखिने डोलिन्द्र साँच्चिकै पछि गएर ट्याक्सीका चालक बने । उनको स्वभाव र पेसा सायद भगवान्ले पनि मिलाई दिएका होलान् ।  केही समयको  ट्याक्सी ड्राइभर (गुरुजी) को पेसा छाडेर उनले ट्युसन सेन्टर खोलेर साहुजी बन्ने प्रयास गरेका थिए । 


काठमाडांैको बसाइँ ट्युसनको भरमा जीवन चल्न नसकेपछि उनले एउटा पब्लिकेसन खोलेका थिए । उनको अक्सफोर्ड पब्लिकेसन अहिले पनि अनामनगरमा चलिरहेको छ । जब डोलिन्द्रले पब्लिकेसन सञ्चालनमा ल्याए त्यसपछि सपनामा पनि नसोचेको धनसम्पत्ति उनले जोड्न भ्याए । गतिलै सम्पत्ति जोडेपछि उनको जीवनमा रूपान्तरणसमेत भयो । उनले घरमा रहेकी शालीन, भद्र र सोझी श्रीमतीलाई समेत भूलेका थिए, अहिले पनि भूलेका छन्  ।   


सम्पत्ति कमाएपछि के गरे डोलिन्द्रले ? 


उनले पब्लिकेसनबाट नयाँ सम्पत्ति कमाउँदै जाँदा सहरमा नयाँ श्रीमती ल्याएका हुन् । जो अहिले पनि डोलिन्द्रसँग सहरमै छन् । उनले केही वर्षभित्रै काठमाडौंको अनामनगरमा ५ आना जग्गामा बनेको घर अरूबाटै खरिद गरेका हुन् । पब्लिकेसनको रकमबाटै कांग्रेस नेत्री चित्रलेखा यादवलाई मोटो रकम दिएर उनी साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक समेत हुन सफल भएको उनीमाथि हरहमेशा आरोप लागिरहन्छ, तर, उक्त आरोपलाई उनी बेपर्वाह गर्छन् । 


साझाको अध्यक्ष भएको केही समयमै डोलिन्द्रले अनामनगरमै १६ आना जमिनमा बनेको शानदार एउटा बंगला खरिद गरे । जो अहिले पनि डोलिन्द्रसँगै छ । बजार मूल्यअनुसार उक्त बंगलाको मूल्य १६ करोडभन्दा माथि पर्छ । हालसालै उनले थानकोटमा १३ आना जमिन खरिद गरेको पनि खुल्न आएको छ । निम्न परिवार जहाँ बिहान बेलुकीको छाक टार्न मुस्किल पर्ने परिवारबाट आएका डोलिन्द्रको हैसियत अहिले करिब ३० लाख मूल्यबराबरको सुजकी स्विफ्ट नामको विलाशी गाडीमा समेत पुगेको छ । 

 

के हो ? त उनको सम्पत्ति 

उनले आर्जन गरेको सम्पत्ति अस्वाभाविक देखिएको छ । अनामनगरमा भएको उनको दुईतले घरको मूल्य अहिले कति होला ? अनुमानका घरमा भन्ने हो भने उक्त घरको मूल्य अहिले १६ करोड जति पर्छ । 


उनले थानकोटमा खरिद गरेको १३ आना जग्गाको मूल्य अहिले प्रतिआना २० लाखको रहेको  जग्गा व्यवसायीहरू नै बताउँछन् । उनले करोडांैको जग्गा जमिन जोडेनन् एउटा पब्लिकेसनको सञ्चालक र दुई बर्से साझाको अध्यक्ष भएपछि नै अहिले पनि उनीसँग करोडौं रुपैयाँ बंैकमा मौज्दात रहेको स्रोतले बताएको छ ।  


उनले उक्त रकम खर्च गरेरै अहिले पनि विभिन्न दलका उच्च नेताहरूलाई पोसिरहेको खुलासा भएको छ । यसैले पनि साझामा हुँदा उनले गरेको आर्थिक अनियमितताका कारण अख्तियारमा परेको उजुरीसमेत अझै गुपचुपमा रहेको छ । उनले अख्तियारमा समेत सेटिंग मिलाएको स्रोतले खुलासा गरेको छ । 


तपाईं अनुमान गर्नसक्नु हुन्छ । भगौडा पुलिसको हैसियतमा रहेका डोलिन्द्रले राजधानीमा  ट्याक्सी चलाएर, सामान्य पुस्तक पसल खोलेर वा प्रिन्टिङ प्रेस चलाएर सामान्य व्यक्तिले यतिको आम्दानी गर्न कति समय लाग्छ होला ? एउटा सामान्य व्यक्तिले २०, ३० वर्ष वा जीवनभर काम गरेर पनि अपवादबाहेक कुनै पनि हालतमा कमाउन सक्दैनन् । तर, साझाका अध्यक्ष डोलिन्द्रले दुई वर्षको समयमा सजिलै करोडौंको रकम कमाएका छन् । कुरा फेरि यो आउँछ कि राज्यलाई कर तिरेर कमाएको पैसाले डोलिन्द्रको अहिले चलअचल सम्पत्ति जत्ति छ त्यत्ति त कसैले पनि जोड्न सक्दैन यो घाम जत्तिकै छर्लंग छ ।  


साझा अध्यक्ष डोलिन्द्रमाथिका आरोप के ? 


साझा प्रकाशनका अध्यक्ष डोलिन्द्र शर्मामाथि विगतदेखि नै  आरोपहरू लाग्दै आएका छन् । ती आरोपहरू अहिले शृंखलाका रूपमा छन् । उनका नाममा अख्तियारदेखि अन्यत्र पनि थुप्रै उजुरी परेका छन् । तर, सम्पत्तिकै आडमा उनले न कसैलाई टेरेका छन् न त राज्यले नै उनीमाथि कारबाहीका लागि एक्सन नै लिएको देखिन्छ । 


तत्कालीन माओवादी युद्धका बेला नेताहरूले लुकाएर राखेको अवैध सम्पत्ति उनले लगानी गरेको एउटा आरोप पनि उनले खेपिरहेका छन् । उनको माओवादी नेता दीनानाथ शर्मासँग राम्रै उठबस र शुसम्बन्ध रहेको कारण उनले शर्मालाई सुरक्षा छाता बनाएका छन् । 


साझा प्रकाशनमा विभिन्न बिक्रेताबाट कारोबारको २५ प्रतिशत रकम कमिसन माग्ने गरेको र साझामा कागज, केमिकल, स्टेसनरी आपूर्ति गर्ने व्यवसायी, पुस्तक छापेर आपूर्ति गर्ने व्यापारीसँग मूल्य बढाएर कमिसन खाने गरेको अर्को आरोप पनि डोलिन्द्रमाथि रहेको छ । 


कहाँ छ सम्पत्ति ? 


सरकारले यतिबेला केन्द्रीय र प्रादेशिक मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिरहेको छ । सरकारको निर्देशनअनुसार सबै मन्त्री र मुख्यमन्त्रीहरूले आआफ्नो सम्पत्ति विवरण बुझाएका छन् । तर, यसरी गैरकानुनी रूपमा कमाएको सम्पत्ति विवरण बुझाउनेतर्फ साझाका अध्यक्ष डोलिन्द्र कानमा तेल हालेर बसेका छन् । यद्यपि सरकारले सरकारी कर्मचारीको समेत सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बाध्यकारी नियम बनाएको छ । 


साझा अध्यक्ष डोलिन्द्रलाई अहिले आफ्नो अकुत सम्पत्ति सार्वजनिक त परै जओस् उक्त सम्पत्ति आर्जनको स्रोत खुलाउनसमेत हम्मेहम्मे परिरहेको अवस्था छ । 
के भन्छ अख्तियार ? 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको विषय अनुसन्धानमा रहेपनि यथेष्ट प्रमाणको अभावले प्रभावकारी हुन नसकेको बताउँदै आएको छ । साझा अध्यक्ष डोलिन्द्रको उजुरीमाथि छानबिन गुपचुप भइरहेको आरोप खेपिरहेको अख्तियारले अनुसन्धानका लागि यथेष्ट प्रमाणको खोजी भइरहेको अख्तियार निकट स्रोत बताउँछ । 

र याे पनि

साझाका अध्यक्ष शर्माकाे चमत्कारः पुर्ख्याैली पाखाे बारी, अहिले सम्पत्ति सहरभरी

‘प्रधानन्यायाधीशलाई पाँच लाख बुझाएर पद जोगाएँ’ 


 

डोलिन्द्रप्रसाद शर्मा साझा प्रकाशन

विशेष