News

नेपाल र चीनबीच १० बुँदे सहमतिः केरूङ हुँदै विद्युतीय कार्गो रेल काठमाडौं ल्याइने

नेपाल र चीनबीच १० बुँदे सहमतिः केरूङ हुँदै विद्युतीय कार्गो रेल काठमाडौं ल्याइने

काठमाडाैं । नेपाल र चीनबीच केरूङ-काठमाडौंका लागि विद्युतीय कार्गो रेल ल्याउने विषयमा सहमति भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी  ली खछ्याङबीच बिहीबार अपरान्ह  भएको भेटवार्तापछि भएको १० बुँदे सहमति र ४ बुँदे समझदारीमा विद्युतीय कार्गो रेल काठमाडौं ल्याउने उल्लेख छ।

 

रेलसम्बन्धि सम्झौतामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र चिनियाँ उप विदेशमन्त्री कङ वान यूले हस्ताक्षर गरेका हुन् । यसअघि चिनियाँ राष्ट्रपति सी चीनफिङले चिनियाँ रेल  काठमाडौं  पुग्नेमा आफू विश्वस्त रहेको बताएका थिए।

 

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा सीले अधिकारीहरूलाई त्यसको सम्भाव्यता अध्ययन छिटो सक्न निर्देशन दिइसकेको  पनि बताएका थिए ।  जेठ दोस्रो साता यो रेलमार्गको अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटका ८ अधिकारी आएका थिए ।

 

एक साता लामो स्थलगत अध्ययन सकेर उनीहरू स्वदेश फर्केका छन्। चिनियाँ पक्षले सम्भाव्यता अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटलाई नियुक्त गरेको थियो। पूर्वसम्भाव्यता अध्ययनको प्रतिवेदन आगामी अगस्टमा आउनेछ।

 

आज भएका थप सहमतिमा विभिन्न ठाउँमा सुख्खा बन्दरगाह बनाउने,  विद्युत लाइन विस्तार गर्नेलगायतका  विषय छन्। दुई देशबीच तातोपानी र केरूङमा पक्की पुल बनाउने र मानव स्रोत र थिंक ट्यांकको आदान-प्रदान गर्ने विषयमा सहमति भएको छ।

नेपाल र चीन काठमाडौं कार्गो रेल केरूङ

विशेष