कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त १५ वर्षपछि पक्राउ
इलाम । कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई इलाम प्रहरीले १५ वर्षपछि पाँचथरबाट पक्राउ गरेको छ । इलाम माइजोगमाई गाउँपालिका वडा नम्बर ३ का खड्गबहादुर पुलामी मगरलाई प्रहरलिे पक्राउ गरेको हो ।
४० वर्षका मगरलाई पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर २ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । २०६४ साल पुष १४ गते साविक नयाँ बजार गाविस वडा नम्बर ५ को जंगलमा भरुवा बन्दुकले शिकार खेल्ने क्रममा साविक नामसालिङ्ग गाविस वडा नम्बर १ बस्ने १४ वर्षका एक बालक लागेको थियो ।
बालकको उपचारको क्रममा मृत्यु भएको थियो । बालकको मृत्युपछि पुलामी फरार थिए । लामो समयदेखि फरार पुलामीलाई विशेष सुराकीको आधारमा इलामस्थित इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गएको टोलीले पाँचथर जिल्लाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।
पक्राउ परेका मगरलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर पुर्याइएकोे छ ।