News मुख्य समाचार

प्रेस काउन्सिल स्रोत भन्छ, ‘रवि लामिछानेजी, बोलेर मात्रै त चिया पनि पाक्दैन, प्रमाण दिनूस्’ 

‘रवि नेपालका अवैध कामदार !’ 

प्रेस काउन्सिल स्रोत भन्छ, ‘रवि लामिछानेजी, बोलेर मात्रै त चिया पनि पाक्दैन, प्रमाण दिनूस्’ 

काठमाडौं । न्युज ट्वान्टी फोर टेलिभिजनको कार्यक्रम  ‘सीधा कुरा’ का सञ्चालक रवि लामिछानेमाथिको आक्रमण तेज हुन थालेको छ । नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेर अमेरिकाकै पासपोर्ट प्रयोग गरिरहेको आरोप रवि लामिछानेमाथि लागेको छ । 

 

रविको दाबीअनुसार उनले अमेरिकी पासपोर्ट त्याग्ने प्रक्रिया थालिसकेका छन् । प्रेस काउन्सिलका एक जिम्मेवार पदाधिकारी भन्छन्, ‘पासपोर्ट त्याग्ने प्रक्रिया थालेको हो कि शौचालयमा फालेको हो के थाहा ?’ 

 

ती अधिकारीले भने, ‘उहाँ नेपालमा जुन भिसा लिएर बसिरहनु भएको छ, त्यो भिसाअनुसार यहाँ काम गर्न पाइँदैन् । नेपालमा नातेदार रहेको आधारमा उहाँ बस्नु भएको छ । यस्तो बसाइँको अनुमति पाउनेले नेपालको कानुनअनुसार काम गरेर पैसा आर्जन गर्न पाउँदैन् । त्यसमाथि नेपाली सञ्चारमा विदेशी कामदार राख्ने सरकारी नीति पनि छैन । किनकी सञ्चारमा काम गर्न नेपाली जनशक्ति नै पर्याप्त छन् ।’

 

न्युज ट्वान्टी फोर टेलिभिजनले रवि लामिछानेलाई स्थायी कर्मचारीको रूपमा वरिष्ठ कार्यक्रम सञ्चालक भनेर नियुक्तिपत्र दिएको विषय बाहिर आइसकेको छ । अर्थात् रवि न्युज ट्वान्टी फोर टेलिभिजनका तलबी कर्मचारी हुन् । 

 

एक राम्रो काम गरिरहेको व्यक्तिलाई अमेरिकी नागरिक भनेर दलालहरूको पक्षमा प्रेस काउन्सिलले किन काम गरेको भन्ने प्रश्नमा ती पदाधिकारीले भने, ‘हामी आफैले कुन पत्रकारले राम्रो काम गरेको छ, कसले नराम्रो गरेको छ भन्दैनौँ । जब उजुरी पर्छ अनि छानबिन गर्छौं । रविविरुद्ध उजुरी परेपछि हामीले गृहमन्त्रालय र सञ्चार मन्त्रालयमा जानकारी माग गरेका छौँ । गृहमन्त्रालयले रवि अमेरिकी नागरिक भएको र गैर पर्यटक (नातेदार) भिसामा नेपालमा रहेको जवाफ दिएको छ । 

 

उनको भिसा अबको साढे चार महिना (अक्टोबर ४, २०१८) मा सकिँदैछ । उहाँले नेपालस्थित अमेरिकी दूतावासमा पासपोर्ट फिर्ता गरेर रद्द गर्ने प्रक्रिया थालिसकेको सामाजिक सञ्जालहरूमा बताउनु भएको छ । अब प्रश्न छ, साढे चार  महिनापछि भिसा लम्ब्याउन उहाँसँग पासपोर्ट हुने छैन । नेपाल बस्ने अनुमति समाप्त हुन्छ । त्यसपछि के गर्नु हुन्छ ? यसकारण हामीले कानुनी प्रक्रिया पूरा गर्नुपर्छ भनेका छौँ ।

 

‘फटाहा, दलालहरूको पर्दाफास रवि लामिछानेले गर्न थालेपछि तपार्इंहरू किन अवरोधक भएर उभिनु भएको हो ? आजसम्म नेपालको मिडियामा रविले जस्तो काम कसले गरेको थियो ?’ भन्ने प्रश्नमा ती पदाधिकारी भन्छन्, ‘उहाँले गर्नुभएको कामको सम्बन्धमा जो कोहीले प्रशंसा गरेका छन् । त्यसमा हामी थप टिप्पणी गर्न चाहँदैनौं । उहाँ विदेशी नागरिक भएर पनि नेपालबाट प्रेस पास लिन सक्नु हुन्छ । प्रेस पास नलिएसम्म उहाँलाई पत्रकार मान्न सकिन्न । पत्रकार नभएको व्यक्तिले पत्रकारको जस्तो काम गर्दा त्यसको अर्को अर्थ लाग्छ । उहाँले गर्ने कुनै पनि काममा अलिकति पनि तलमाथि पर्दा उहाँलाई नेपालकै साइबर क्राइम लाग्न सक्छ । त्यस्तो अवस्थामा हामीले उहाँलाई कसरी ‘प्रोटेक्ट’ गर्ने ? नेपालको प्रेस पास लिनुभन्दा जुत्ता पालिस गरेर बस्छु भन्नु भएको छ । यसो भनेर उहाँ आफैँ असुरक्षित बन्न सक्नु हुन्छ ।’

 

ती पदाधिकारीले भने, ‘दुई दिन अघिसम्म उहाँले वर्क परमिट लिनु भएको छैन । पासपोर्ट अमेरिकाकै प्रयोग गरिरहनु भएको छ । नेपाली नागरिकता त्यागेको प्रमाण अमेरिकी प्रशासनलाई बुझाएर उहाँ अमेरिकी हुनु भएको हो । अहिले पनि उहाँ अमेरिकी नागरिक नै हो । उहाँ नेपाली मूलको अमेरिकी नागरिक हो । भाषाले अहिले पनि उहाँ नेपाली नै हो । तर, जब विवाद आउँछ, त्यो बेला भावनाको कुराले काम गर्दैन । प्रेस काउन्सिलमा उजुरी परेपछि हामीले कागज खोजेका छौँ । उहाँ मान्छेलाई भावनाले बाँध्ने गरी प्रचारबाजीमा उत्रिनु भएको छ । यसकारण म भन्छु कि कुराले मात्रै चिया पनि पाक्दैन । नेपाली भएको प्रमाण दिनूस् ।’ 

 

यो प्रकरणमा रवि लामिछानेसँग पनि हामीले कुराकानी गर्न खोजेका थियौँ । उहाँको मोबाइल नम्बरमा कल पनि ग-र्यौं । तर, उठेन । मोबाइलमा मेसेज गर्दा पनि लामिछानेले ‘रेस्पोन्स’ गरेनन् । 

र यो पनि,

रवि लामिछानेलार्इ तीन वर्ष कैद हुन सक्ने !

विशेष