अर्थ मुख्य समाचार समाज प्रदेश १ News

सुन तस्करी प्रकरण : ९ अभियुक्तले गुहारे उच्च अदालत

सुन तस्करी प्रकरण : ९ अभियुक्तले गुहारे उच्च अदालत

विराटनगर । ३८ क्वीन्टल सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्या मुद्दामा चार जना प्रहरी अधिकारीसहित ९ जना अभियुक्तहरुले जिल्ला अदालत मोरङको आदेश विरुद्ध १७ नम्बरको लागि निवेदन दर्ता गरेका छन् ।

 

उच्च अदालत विराटनगरमा दायर भएको निवेदनमा मोरङ अदालतले गरेको आदेश चित्त नबुझेपछि सादा तारिकमा छाड्न माग राख्दै उनीहरुले उच्च अदालतको १७ नम्बरको लागि निवेदन दर्ता गरेका हुन् । यसरी १७ नम्बर गर्नेमा पूर्व डिआईजी गोविन्द निरौला, निलम्बन एसएसपी दिवश लोहनी, एसपी विकासराज खनाल, डिएसपी सन्जय कुमार राउत रहेको छन् । त्यस्तै हेमन्त गौतम, राजन थापा, पुण्यप्रसाद लामा, भूजुङ गुरुङ र सम्बीरप्रसाद तोलाङ्गेले समेत निवेदन लिएका छन् ।

 

अदालतको आदेश विरुद्ध अभियुक्तहरुले १७ नम्बरको लागि निवेदन दर्ता गराएपछि जिल्ला अदालत मोरङले उच्च अदालत विराटनगरलाई कैफियत प्रतिवेदन पठाएको छ । कैफियत प्रतिवदेनमा अभियुक्तहरुले दिएको बयान, घटना मुचुल्का, अदालतको आदेश रहनेछ । मुद्दाको सम्पूर्ण कैफियत प्रतिवेदन उच्च अदालतमा बुझाएपछि अदालतले पेशी तोक्ने छ ।

 

उच्च अदालतमा प्रत्येक हप्ताको बिहीवार मात्र पेशी हुने भएकोले १७ नम्बरमा निवेदन परेका अभियुक्तहरुको हकमा पनि आउँदो बिहीवार बहस हुन सक्ने एक जना कानून व्यवसायीले बताए । उच्च अदालतमा हुने बहसको लागि वादीका तर्फबाट उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुलीले बहस गर्ने बताइएको छ ।

 

वादी र प्रतिवादीका कानून व्यवसायीहरुको बहस सुनेपछि न्यायाधीशले जिल्ला अदालतले गरेको आदेश हेरी प्रमाणको मुल्याङ्कन गर्दा प्रतिवादी कसुरदार नदेखिएमा साधारण तारेख वा धरौटीमा छाड्न सक्ने अथवा जिल्ला अदालतले गरेको आदेशलाई नै सदर गर्न सक्ने छन् ।

 

मोरङ अदालतका न्यायाधीश नारायणप्रसाद शर्माले गएको जेठ ८ गते सुन तस्करी र हत्या प्रकरण मुद्दामा पक्राउ परेका ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा राख्ने आदेश दिएका थिए ।

 

पुर्पक्षको लागि झुम्का कारागारको थुनामा रहेका २८ अभियुक्त मध्ये ९ जनाले १७ नम्बरको लागि निवेदन दर्ता गरेका हुन् ।  उनीहरु विरुद्ध सङ्गठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो ।

 

यसैबीच जिल्ला सरकारी वकिलको कार्यालय विराटनगर मोरङले सुन तस्करी र उर्लाबारी सनम शाक्य हत्या प्रकरण मुद्दामा छुटेका दुई जना प्रतिवादीको हकमा १७ नम्बर गर्ने तयारी गरेको छ । जिल्ला अदालत मोरङले सादा तारिक र सामान्य धरौटीमा छाडेको भन्दै अदालतको आदेशविरुद्ध १७ नम्बरमा निवेदन दर्ता गर्ने भएको हो । 

सुन अदालत

विशेष