कभर स्टोरी राजनीति भिडियो

नेपालले पछिल्लो समयमा ठूलो राजनीतिक विकास गरेको छ (भिडियो)

युरोपियन युनियनका राजदूतसँग विशेष अन्तर्वार्ता

नेपालले पछिल्लो समयमा ठूलो राजनीतिक विकास गरेको छ (भिडियो)

काठमाडौं । १० बर्से सशस्त्र द्वन्द्व र संक्रमणकालसँगै नेपालको शान्तिप्रक्रिया लगभग टुंगियो । स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहका निर्वाचन भयो । देश नयाँ राजनीतिक ‘कोर्स’ मा पुग्यो । अर्थात् संघीय संरचनामा पुग्यो ।

 

अस्थिर सरकारका कारण भोग्नु परेका विभिन्न समस्या पनि अहिलेका लागि टरेको छ । सरकारलाई दुई तिहाइभन्दा बढी मतको साथ छ । यस्तो अवस्थामा राष्ट्रिय एजेन्डाको रूपमा समृद्धि र विकासलाई बुझिएको छ ।


यो लामो राजनीतिक शृंखला र उपलब्धिमा अन्तर्राष्ट्रिय समुदायको महत्वपूर्ण भूमिका रह्यो । नेपाल सरकारले द्वन्द्व व्यवस्थापन र शान्तिप्रक्रियाका लागि अन्तर्राष्ट्रिय समुदायको भूमिकाबारे प्रशंसा गर्दैआएको छ ।


सँगसँगै आगामी दिनमा समेत कस्तो भूमिका र सहायता हुनसक्छ ? नेपालसँग अन्तर्राष्ट्रिय निकायहरूको कस्तो अपेक्षा छ ? र नेपालले कस्ता अपेक्षा गर्ने ? लगायत विषयमा नेपाल आजले नेपालस्थित युरोपियन युनियनका राजदूत भेरोनिका कोडीसँग विशेष अन्तर्वार्ता गरेको छ ।

 

नेपाल आजका लागि पूर्वमिस नेपाल सुविन लिम्बूले राजदूत भेरोनिका कोडीसँग गरेको यो अन्तर्वार्तामा उनले नेपालसँग युरोपियन युनियन (इयू) को पुरानो र स्थायी सम्बन्ध रहेको स्मरण गराउँदै यहाँको उन्नतिको पक्षमा रहने बताएकी छन् ।

 

नेपालमा दिगो विकास र उन्नतिको लागि नै सहायताका लागि आफूहरू यहाँ रहेको उल्लेख गर्दै उनले विभिन्न क्षेत्रमा सहायता गरेको बताइन् । साथै यहाँका थुप्रै सकारात्मक पक्ष रहेको उनले औंल्याएकी छन् ।

 

भेरोनिका कोडीले नेपाल आजका लागि सुविन लिम्बूसँग दिएको अन्तर्वार्ताको भावार्थ यहाँ प्रस्तुत छ ः


नेपालको विकासको सम्भावना

 

सन् १९९२ देखि इयूले नेपालसँग काम गर्दैआएको छ । यसबीचमा हामीले यहाँका विभिन्न क्षेत्रमा सहजीकरणको रूपमा काम गरिसकेका छौँ ।

 

नेपालले यहाँ उपलब्ध हाइड्रोपावर र पर्यटनको क्षेत्रलाई उपयोग गरी थुप्रै उपलब्धि हासिल गर्नसक्छ । अर्थतन्त्रको धेरै हिस्सा वैदेशिक रोजगारीले धाने पनि यो तत्कालिक दिगो भने होइन ।


हाम्रो चासो


नेपालको दिगो विकासमा युरोपियन युनियनको सहायता र साझेदारी कायम छ । हामीले खासगरी शिक्षा, पोषण, ग्रामीण विकास, लोकतन्त्र, सुशासनलगायत क्षेत्रमा नेपाल सरकारसँग साझेदारी गर्दैआएका छौँ ।

 

यसबाहेक यहाँको कृषि क्षेत्रमा पनि हामीले थुप्रै सहायता गरेका छौँ । खासगरी ग्रामीण र दुर्गम क्षेत्रको कृषि क्षेत्रमा हामीले काम ग¥यौँ । अर्गानिक कफीखेतीको लागि थुप्रै सम्भावना छ यहाँ । यस क्षेत्रमा हाम्रो सहायता पनि रह्यो ।

 

यद्यपि इयू मात्रै नेपालमा लगानीको लागि एकमात्र निकाय भने हैन । अन्य निकायले पनि यहाँ काम गरिरहेका छन् । हामी पनि संयुक्त रूपमा नेपाल सरकारसँग सहकार्य गर्न तयार छौँ ।

 

यद्यपि केही चुनौती छन् यहाँ । बेरोजगारी, बालबालिकाको क्षेत्र, कम उमेरमै गर्भवती बन्ने महिलाको अवस्था हेर्दा आशाजनक छैन । तर, हाम्रो चासो यस क्षेत्रमा पनि छ ।


राजनीतिबारे


नेपालले एक दशक लामो द्वन्द्व र दशक लामो संक्रमणकालीन समय गुजारेर आयो । चुनावपछि प्रष्ट दुई तिहाइ मतको समर्थनमा सरकार छ । यो सुखद पक्ष हो । यहाँको आर्थिक उन्नति र वाह्य लगानीको पक्षमा हामी छौँ ।

 

समावेशी, समानुपातिक, संघीयतालगायत उपलब्धि यहाँ भए । जुन कुरा विकासका लागि अवसर पनि हुन् । यद्यपि यसका चुनौती होलान् । 

 

संघीयता नेपालका लागि आवश्यकता हो । जनअपेक्षाअनुसार यो उपलब्धि भयो । तर, अवश्य यो नेपालका लागि महँगो अभ्यास हुनेछ । उत्तरदायी र पारदर्शिताको खाँचो भने अत्यावश्यक छ ।


महिलाको अवस्था


संसद्मा ३३ प्रतिशत महिलाको सहभागिता साँच्चिकै सकारात्मक अवस्था हो । म लुम्बिनी, सुर्खेत, कालिकोट, गोर्खालगायत नेपालका विभिन्न स्थान घुम्दा त्यहाँ महिलाहरूको सहभागिता देखेर साँच्चिकै उत्साही भएँ । सामुदायिक काममा स्थानीय महिलाको उपस्थितिले पनि महिलाहरूको क्षेत्रमा विकास भएको बुझिन्छ ।


विश्व शान्तिमा नेपाल


नेपाल एक विशाल देश हो । यहाँको भौगोलिक बनोट र अवस्था निकै आकर्षक छ । यससँगै विश्व शान्तिका लागि नेपालको पनि महत्वपूर्ण हिस्सेदारी छ । नेपालले पहिलेदेखि नै विश्व शान्तिको लागि सहायता गर्दैआएको वास्तविकता हो । शान्ति सेनालगायत विभिन्न हिसाबले नेपालको हिस्सेदारी महत्वपूर्ण छ ।

युरोपियन युनियन इयू

विशेष