सांसद अधिकारीकाे अाक्राेशः स्वास्थ्य क्षेत्रमा राम्राे काम गर्ने म जस लिने गगन थापा
'गम्भिर प्रकृतिका बिरामीको पैसा खोस्ने देउवा नै हुन् '
काठमाडौं । नेकपाका सांसद खगराज अधिकारीले पूर्ववर्ती सरकारले विरामीलाई दिने भनी घोषणा गरेको पैसा आफैले खोसेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा स्वास्थ्य मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा विनियोजित बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्दै पूर्व स्वास्थ्यमन्त्री अधिकारीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नै बिरामीको पैसा खोस्न लगाएको आरोप लगाएका हुन् ।
पूर्ववर्ती कांग्रेस नेतृत्वको सरकारले बाहिरिदै गर्दा बिना बजेट शीर्षकमा किड्नी, स्पाइनल इन्जुरी,स्ट्रोकका बिरामीलाई प्रतिमहिना ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरी हस्पिटलमा नाटक मञ्चन गर्ने काम गरेको उनकाे टिप्पणी थियाे ।
उनले पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई व्यङ्ग्य गर्दे भने, ‘पूर्वमन्त्री गगन थापाले नै यो काम गर्नुहुन्थ्यो होला । उहाँले खोज्दा खोज्दै नपाएर छोड्नुभयो होला ।’
किड्नीको निःशुल्क ट्रान्सप्लान्ट र बिरामीलाई भत्ता दिने निर्णय गरेको सरकारका प्रधानमन्त्रीले नै बिरामीको पैसा खोसेको उनकाे आरोप थियाे । अधिकारीले भने, ‘तिमीलाई पैसा दिएँ भनेर कसैले पैसा पाएको छैन । पैसा पाउँदाको भोलिपल्ट खोस्न सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवाले नै लगाउनुभयो भनेर त्यही बिरामीले भन्छ ।’
आफ्नै नेतृत्वमा स्वास्थ्य नीति बनेको र त्यसकै आधारमा १५ जिल्लामा सुरु गरेको स्वास्थ्य बीमा पाइलटिङ कार्यक्रमको श्रेय सांसद थापाले लिन खोजेको भन्दै आपत्ति जनाए ।
सामाजिक स्वास्थ्य बिमा कार्यक्रमलाई नामै परिर्वतन गरेर स्वास्थ्य बिमा बनाई पूँजीपति वर्ग र धनाढ्यका लागि काम गरेर पूर्ववर्ती सरकारका मन्त्रीले वर्तमान सरकारले बिपन्नलाई गरेन भनेर खर्च कटौती प्रस्ताव गरेको भन्दै पूर्वमन्त्री थापाप्रति कटाक्ष गरे ।
औषधिको मूल्य निर्धारण आफूले गरेको र त्यसयता औषधिको मूल्य निर्धारण हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गरे । पूर्व स्वास्थ्यमन्त्री गगन थापाले खर्च कटौतीको प्रस्ताव पेश गरेपछि सांसद अधिकारीले विनियोजित बजेटमाथि धारणा राखेका थियो ।
शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमा विनियोजित बजेटमाथिको छलफल सकिएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक आइतबारका लागि बोलाइएको छ ।