News राजनीति

नेपाल-चीन रेल्वे सम्झौता: नयाँ सन्देशवाहक

प्रधानमन्त्री ओलीको चीन भ्रमण महान् अवसर

नेपाल-चीन रेल्वे सम्झौता: नयाँ सन्देशवाहक

काठमाडौँ । नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माण सम्झौता भएकोमा खुसी प्रकट गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने औपचारिक चीन भ्रमणका क्रममा जारी संयुक्त १४ बुँदे वक्तव्यमा उक्त सम्झौताप्रति दुवैले देशले खुसी व्यक्त गर्दै रेलमार्ग सम्पर्क सञ्जालले दुई देशको सीमापार सम्पर्क सञ्जालमा नयाँ युगको सन्देशवाहकको काम गर्ने जनाइएको छ । दुई देशबीच बिहीबार रेलमार्गसहित विभिन्न १४ विषयमा सम्झौता र सहकार्यका लागि पत्र आदानप्रदान भएको थियो । 

 

दुवै देशले रेलमार्ग सहकार्यबारे दीर्घकालीन संयन्त्र बनाई त्यसबाट असल सञ्चार बढाउने छन् भने चीनले यसका लागि प्रविधि र तालिम उपलब्ध गराउनेछ । चीनको ‘एक क्षेत्र, एक मार्ग’ लाई सघन कार्यान्वयनका लागि हिमालयन सीमापार बहुआयामिक सम्पर्क सञ्जालको कार्यढाँचाअन्तर्गत सडक, रेल, हवाई र सञ्चार सम्पर्कलाई व्यापक बनाउन दुई देश सहमत भएका हुन् । 

 

नेपालले पूर्वाधार र उत्पादनका क्षेत्रमा थप चिनियाँ लगानी भित्र्याउन गरेको र लगानीमैत्री वातावरणका लागि आवश्यक कानुन, नीति र करसम्बन्धी दायरालाई अनुकूल बनाउन तयार रहेको चीनलाई अवगत गराएको वक्तव्यमा जनाइएको छ । 


दुवै मुलुकले चाँडै झाग्मु÷खासा बन्दरगाह पुनः खोल्न, जिलोङ÷केरुङ बन्दरगाहको सञ्चालनका लागि आवश्यक सुधार गर्न, अरनिको मार्गको प्रभावकारी सञ्चालन, स्याफ्रुबेसी–रसुवागढी मार्गलाई मर्मत र सुधार, पुलान÷यारी बन्दरगाहस्थित कर्णाली नदीको हिल्सामा पुल बनाउन चाँडै प्रक्रिया अघि बढाउन पनि दुई देशबीच सहमति भएको छ । भूकम्पबाट प्रभावित तातोपानी क्षेत्रको पुनः निर्माणलाई नेपालले सम्पन्न गर्नेछ । 

 

दुवै मुुलुकले चिनियाँ र नेपाली विमान सञ्चालकलाई सीधा हवाई सम्पर्कका लागि प्रोत्साहन गर्न पनि सहमति जनाएका छन् । दुवै पक्षले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई गति दिन थप समन्वय बढाउने छन् । 


नेपालले निर्धारण गरेको स्थानमा इन्धन भण्डारणको सम्भाव्यता अध्ययन र इन्धन र ग्यास अन्वेषण केन्द्र खडा गर्न चीनले सघाउने छ । 
संयुक्त विज्ञप्तिमा अन्तरदेशीय प्रसारण लाइन निर्माणको प्रक्रिया र सो कार्यको सम्भाव्यता अध्ययनका लागि चिनियाँ लगानीकर्ता समेत उत्साहित भएको उल्लेख गरिएको छ । 


कोसी, गण्डकी, कर्णाली आर्थिक करिडोर निर्माणका लागि नेपालले राखेको प्रस्तावलाई स्वागत गर्दै चीनले ती क्षेत्रको आर्थिक विकास र रोजगारी सिर्जनाका लागि सहकार्यको सम्भाव्यता अध्ययन गर्ने विषयसमेत विज्ञप्तिमा उल्लेख छ । 


दुवै पक्षले कृषि उत्पादन र कृषिउपज उत्पादनमा बढावा दिँदै आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने, प्रयोगशाला र जाँचपासका लागि सुविधा उपलब्ध गराउन अत्यावश्यक सहकार्य गर्ने भएका छन् । 



अध्ययनमा रहेको नेपाल चीन स्वतन्त्र व्यापार सम्झौतालाई अन्तिम रूप दिँदै दुवै पक्षले केन्द्र र स्थानीय तहसम्म सीमापार आर्थिक सहकार्यका क्षेत्र अभिवृद्धि गर्दै चिनियाँ पक्षले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको टिमुरेमा निर्माण हुने क्रममा रहेको सीमापार जाँच केन्द्रलाई शीघ्र सम्पन्न गर्दै सञ्चालनमा ल्याइने संयुक्त विज्ञप्तिमा समावेश छ । 


सन् २०१६ मा भएको नेपाल चीन व्यापार तथा पारवहन सम्झौताअनुसार सम्पर्क सञ्जालको विस्तार, यातायातको सहजीकरणका लागि सम्बन्धित निकायबीच थप सहकार्य र संवाद बढाई शीघ्र कार्यान्वयनमा ल्याइने भएको छ । 

 

नेपालमा उपलब्ध निर्माण सामग्री, जलसम्पदा, ऊर्जा र प्रागांरिक कृषि र जडीबुटीबाट लाभ लिन आर्थिक र व्यापारिक सहकार्यको क्षेत्र अभिवृद्धिका लागि दुवै पक्ष सहमत भएका छन् । दुवै पक्षबीच मदन भण्डारी विज्ञान र प्रविधि प्रतिष्ठान स्थापनाको सम्भाव्यता अध्ययन गर्न सहमति भएको छ । यस्तै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि विगतमा भएका सहमति तथा सम्झौतालाई व्यवस्थित बनाएर कार्यान्वयनमा ल्याउनसमेत दुवै पक्ष सहमत भएका छन् । नेपाल सरकारले सिचुवानको छेन्दुमा महावाणिज्यदूतको कार्यालय खोल्न गरेको प्रस्तावलाई चीनले गम्भीरतापूर्वक अध्ययन गर्ने वचन दिएको छ ।


चीनले तिब्बत, सिचुवान, युनान, क्युुगाई र अन्य प्रदेशमा व्यापार, पर्यटन, लगानी र अन्य क्षेत्रमा सहकार्य गर्न प्रोत्साहन गर्ने भएको छ । सन् २०१४ मा शिक्षा मन्त्रालय र नेपालस्थित चिनियाँ दूतावासबीच भएको सम्झौताअनुसार नेपालको विद्यालयमा शिक्षण सहजीकरण कार्यक्रम अन्र्तगत स्वयंसेवी चिनियाँ भाषा शिक्षक उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । 


दुवै पक्षबीच संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय मञ्चमा साझा स्वार्थ विकास गर्दै विकसित, अल्पविकसित र भूपरिवेष्ठित मुलुकबीचको सहकार्यलाई अभिवृद्धि गर्ने, नेपालले सांघाईको कोअपरेसन अर्गनाइजेसनमा पर्यवेक्षकको भूमिकालाई असाध्यै महत्व दिँदै अन्य सदस्य मुलुकको परामर्शमा थप भूमिका उपलब्ध गराउन चीन सहमत भएको छ । 


दुवै मुलुकले सार्क र अन्य क्षेत्रीय संयन्त्रका मार्ग दर्शनलाई एक अर्काको सहयोग र सहभागिताका लागि सकारात्मक रूपमा लिनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई दुई देशबीच लामो समयदेखिको विस्तृत सहकार्य र साझेदारी प्रवद्र्धनका लागि महान् अवसरका रूपमा चित्रण गरिएको छ । प्रधानमन्त्री ओलीले चिनियाँ नेतालाई यसै वर्ष नेपाल भ्रमणका लागि गरेको आग्रहलाई आपसी समझदारी र कूटनीतिक संयन्त्रमार्फत शीघ्र मिति तय गरिने भएको छ । 


नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको सन् २०१७ मा भएको १९ औं राष्ट्रिय कंग्रेस सफलतापूर्वक सम्पन्न भएको र नेशनल पिपल्स कंग्रेस, सन् २०१८ मो चिनियाँ राजनीतिक परामर्श सम्मेलन सम्पन्न भएकामा बधाई दिँदै चिनियाँ विशेषताको समाजवादको आधारमा नयाँ युगतर्फको यात्राको अगुवाई गर्न राष्ट्रपति सि जिनपिङ सफल हुने विश्वास व्यक्त गरेको छ । 


चिनियाँ पक्षले नेपालको सक्रमणकालीन राजनीतिको अन्त्य भई राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ युग सुरु भएकामा नेपाललाई बधाई दिँदै तीन तहका निर्वाचन सम्पन्न भई ओलीको नेतृत्वमा गठित सरकारले समृद्ध नेपाल र सुखी नेपालीको संकल्प लिएकामा खुसी व्यक्त गरेको छ । 
 

नेपाल–चीन केपी अाेली चीन भ्रमण रेलवे सम्झाैता

विशेष