भाटभटेनीमा म्याद गुज्रिएको सामान बिक्रि, अनुसन्धान हुँदै

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर कलंकीका कर्मचारी राजाराम तिवारी पनि पक्राउ परेका थिए । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार भाटभटेनीले म्याद गुज्रिएको घ्यू जस्ता खाद्यान्नको बिक्री वित्तरण गरेको भेटिएपछि कर्मचारीलाई पक्राउ गरेको हो ।
महानिर्देशक गौचन भन्छन्, ‘भाटभटेनी जस्तो ठूलो व्यवसायले म्याद गुज्रिएको सामान बेच्नु भनेको दुर्भाग्य हो, यसले भाटभटेनीको शाख गिर्न सक्छ ।’ गौचनले घ्यु लगायतका केही सामानमा म्याद गुज्रिएको पाएकाले स्टोरमा शिल नलगाई कर्मचारीमात्र पक्रिएको बताए । कागजात लिएर सञ्चालक बोलाउने र प्रमाण पुगे सचेत गराएर छोड्ने, नभए कालोबजारी ऐन अन्तरगत सजाय गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
विभागले २५ थोक तथा खुद्रा पसलमा अनुगमन गरेको थियो जसमध्ये सात वटामा म्याद गुज्रिएको सामान राखेको, मूल्य सुचि नटाँसेको, उत्पादन मिति उल्लेख नभएको पाएपछि विभागले उनीहरुलाई पक्राउ गरेर काठमाडौ र ललितपुर पुलिसलाई जिम्मा लगाएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौले कालोबजारी ऐन अन्र्तगत म्याद गुज्रेको, मूल्य सुचि नराखेकोका कारण पक्राउ परेको ४ व्यवसायीको अनुसन्धानको लागि म्याद थप गरेको छ । अनुसन्धान दायरामा भाटभटेनी समेत परेको प्रहरीले बताएको छ ।
अनुसन्धान भाटभटेनी