कला साहित्य भिडियो इतिहासमा आज News कभर स्टोरी

नयाँ गायकहरू डेउडा गीत बिगार्दैछन् (भिडियो)

समर्पण श्री

नयाँ गायकहरू डेउडा गीत बिगार्दैछन् (भिडियो)

काठमाडौं ।  हेमन्त विवश सुदूरपश्चिमका लोकप्रिय कवि हुन् । उनको कवितामा सुदूरपश्चिमेली जनजीवनको चित्रण पाइन्छ । उनी एकातर्फ नेपाली समाजको पहिचान र संस्कृतिको बचाउ गर्छन् भने अर्कोतर्फ समाजको शोषित वर्गको पक्षमा आवाज उठाउँछन् । उसो त यी दुवैको बलियो माध्यम भनेको कविता हो । कवितामार्फत नै उनी समाजको सुन्दर र कुरूप पक्षको वकालत गर्छन् । ‘सैपालको आँगन’ (कवितासंग्रह), आफ्नै मनसँग (कवितासंग्रह), एउटा कथा तिम्रो मेरो गीतीसंग्रह) प्रकाशित गरिसकेका उनी हाल नयाँ कविता संग्रहको तयारीमा छन् । साथै संस्कृतिसम्बन्धी खोज र अनुसन्धानमा पनि सक्रिय छन् । 


डोटीमा जन्मिएका कवि विवश ०५२ सालमा काठमाडौं आए । त्यसताका काठमाडौंमा उनले निकै संघर्ष गर्नुप¥यो । संघर्षका ती दिन सम्झँदै कवि विवश भन्छन्, ‘त्यसबेला मैले धेरै दुःखहरू भोगेँ । राम्रा पुस्तकहरू पढ्न मन लाग्दथ्यो । तर, पुस्तक किन्न खल्तीमा पैसासमेत हुँदैन थियो ।’ काठमाडाैंमै रहेर साहित्य साधनामा भने उनी निरन्तर लागिरहे । त्यतिबेला उनको संगत भने गायक र संगीतकारहरूसँग बढी थियो । त्यही संगतमा उनले थुप्रै गीतहरू लेखे । अहिलेपनि उनको नयाँ गीति संग्रह बजारमा  आउने तयारीमा छ ।डेउडा लोक संस्कृतिमा हुर्केका कवि विवशले डेउडा लोकगीत पनि थुप्रै लेखेका छन् ।

 

पछिल्लो समय लोकगीतमा आएको विकृतिले भने उनी निराश छन् । अहिलेका डेउडा गायकहरूले गीतको नाममा एक दुई शब्द थुपार्ने तर, मौलिक भावलाई कुल्चिएको उनको गुनासो छ ।‘पहिलेको डेउडा लोक गीतभित्र एकै लाइनले जगत् बोकेको थियो । जुन भाव पहिले गाइने डेउडा गीतले बोकेका हुन्थे, त्यस किसिमको भाव अहिलेका गीतले बोक्न सकेका छैनन् ।’ उनी सम्झँदै भन्छन्, ‘गीतमा मौलिकता विस्तारै गुम्दै गएको छ ।’ केही राम्रा पक्षहरू पनि नभएका त होइनन् । जस्तै अहिलेका लोकगीत सरल हुने भएकाले बुझ्न सजिलो हुन्छन् । तरपनि पित्तलमा सुनको जलप लगाउन खोजेजस्तो मात्र भएको उनको ठम्याई छ । ‘एक दुईवटा शब्द प्रयोग गरेर त्यसको आकार दिनमात्र खोजिरहेको जस्तो मात्र देखिन्छन् ।’ निराश हुदैँ उनी भन्छन्, ‘डेउडा गायकहरूले आफ्नो संस्कृति नै भूलिसकेका छन् ।’

 

डेउडा एउटा सुदूरपश्चिमको संस्कृति हो, लोकगीत हो । तर, पछिल्लो समय डेउडालाई सुदूरपश्चिमको भाषा भनेर बुझ्नेहरू धेरै छन् । यस्तो बुझाइले उनलाई चिन्तित बनाएको छ । कतिपय कार्यक्रमहरूमा उनले अनुरोध गर्दै भनेका पनि छन्, ‘डेउडा कुनै भाषा होइन लोकगीत र लोकसंस्कृति हो ।’ यसरी बुझ्नु हाम्रो आफ्नै कमजोरी भएको उनको अनुमान छ । वास्तवमा डोटेली भाषा नै सुदूरपश्चिमको मौलिक भाषा हो । कतिपयले डोटी जिल्लामा बसेर डोटेली भाषा भएको भन्न सक्छन् तर, त्यो संकुचित धारणा हो । उनी प्रस्ट्याउँदै भन्छन्, ‘पहिले डोटी भनेको एउटा छुट्टै राज्य थियो । जुन कुमाउ, गढवालसम्म थियो । त्यसबेला डोटी राज्यका मानिसहरू यो भाषा बोल्ने गर्दथे । त्यही भाषा नै अहिलेको डोटेली भाषा हो ।’ कविता लेख्दा विवशको आँखामा शोषित वर्गहरू नाच्छन् । जो वर्षौँदेखि समाजमा शोषित भइरहे । ती पात्रहरूको पीडा, घरआँगन, रहनसहनले उनलाई निकै झकझक्याउने गर्छ । उनको विचारमा ती पात्रबिना उनको लेखन नै अधुरो हुने गर्छ । 

 

लेखनमा नयाँ पुस्तामा निकै सम्भावना बढेको छ । नयाँ पुस्ताहरू लेखनमा सक्रिय भइ आएको देख्दा उनी खुसी पनि छन् । सूचना प्रविधिले गर्दा नयाँ पुस्तामा सूचनाको स्रोत बढेको छ । जसले गर्दा सम्भावना पनि बढेको उनको  अनुमान छ । तर, नयाँ पुस्ताहरू कसरी प्रस्तुत हुन्छन् भन्ने कुरा निकै महत्वपूर्ण रहेको उनी बताउँछन् । वर्तमान अवस्थालाई मध्यनजर गर्ने हो भने गुट र उपगुटले साहित्यको वास्तविक स्वरूपलाई बिगारेको छ । साहित्यको बिगँ्रदो माहोलमा उनी चिन्ता व्यक्त गर्दै भन्छन्, ‘गुटले साहित्यको वास्तविक अनुहारलाई बिगारेको छ । यसभन्दा माथि उठ्नुपर्ने बेलामा हामी गुट उपगुटमै अल्झिरहेका छौँ । यसले हामी आफैँलाई नोक्सान गरिरहेको छ ।’

कवि सुदूरपश्चिम हेमन्त विवश

विशेष