पहिलो हाफमै पानामाविरुद्ध इंग्ल्यान्ड ५–० गोलले अघि
मस्काे। रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को जारी खेलकाे पहिलो हाफमा पनामाविरुद्ध इङ्ल्यान्डले गोल वर्षा गरेकाे छ ।इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन र जोहन स्टोनेसले समान २–२ र जेसी लिंगार्डले १ गोल गर्दै पानामाविरुद्ध पहिलो हाफमा ५–० गोलको अग्रता दिलाएका हुन् ।
पहिलो हाफको अतिरिक्त समयमा पानामाका खेलाडीले आफ्नो डी बक्सभित्र फल गरेपछि इंग्ल्यान्डले फेरि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट केनले गोल गर्दै पहिलो हाफसम्म ५–० गोलको अग्रता दिलाएका हुन् ।
यसअघि खेलको ४० औं मिनेटमा स्टोनेसले गोल गर्दै ४–० गोलको अग्रता दिलाएका थिए । खेलको ३६औं मिनेटमा जेसी लिंगार्डले गोल गर्दै ३–० गोलको अग्रता दिलाएका थिए । उनले डी बक्स बाहिरबाट उत्कृष्ट सर्ट प्रहार गर्दै गोल गरे ।
यसअघि खेलको २२औं मिनेटमा इंग्ल्यान्डका खेलाडीलाई पानामाका खेलाडीले आफ्नो डी बक्सभित्र फल गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल गर्दै २–० गोलको अग्रता दिलाएका थिए । जोहन स्टोनेसले खेलको आठौं मिनेटमा नै गोल गर्दै अग्रता दिलाएका थिए ।
इंग्ल्यान्डले आफ्नो समूह चरणको पहिलो खेलमा ट्युनिसियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै, पानामाले समूह चरणको पहिलो खेलमा बेल्जियमसँग ३-० गोल अन्तरको हार ब्यहोरेको थियो ।इङ्ल्यान्ड र पनामा अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक भिड्न लागेका हुन्।