सेनेगल र जापानबीचकाे खेल सुरु, यस्ताे छ म्याच फ्याक्ट्स
मस्को । विश्वकप फुटबल अन्तर्गत अहिलेसेनेगल र जापानबीच खेल भइरहेकाे छ । समूह ‘एच’ अन्तर्गत पहिलो खेलमा दुवै टोलीले जित हात पारेका थिए ।
जापानले कोलम्बिया तथा सेनेगलले पोल्यान्डलाई हराएका थिए । जारी विश्वकपमा एसियाबाट जापान र अफ्रिकाबाट सेनेगल अगाडी बढ्ने सम्भावना बलियो देखिएको छ ।
आमने सामने
जापान र सेनेगल अहिलेसम्म अन्तर्राष्ट्रिय फुटबलमा तीन पटक आमने सामने भएका छन् । कुनै पनि खेलमा जापानले सेनेगलमाथि जित हात पार्न सकेको छैन । तीन खेलमा दुई खेल सेनेगलले जितेको थियो भने एक गोल बराबरीमा सकिएको थियो । यी दुई टिमको अन्तिम खेल सन् २००३ मा भएका थियो । मैत्रीपूर्ण खेलमा सेनेगलले जापानलाई १–० ले पराजित गरेको थियो ।
म्याच फ्याक्ट्स
–अहिलेसम्म कुनै पनि एसियाली टिमले विश्वकपको पहिलो दुई खेलमा लगातार जित हात पार्न सकेको छैन ।
–सन् २००२ पछि जापानले लगातार दुई खेल जित्न सकेको छैन । आफ्नै भूमिमा भएको त्यो संस्करणमा जापानले दोस्रो र तेस्रो खेलमा क्रमशः रसिया र ट्युनिसियालाई हराएको थियो ।
–पछिल्लो नौ खेलमा सेनेगलले जम्मा पाँच गोलमात्र खाएको छ, जसमा उसले पाँच जित, तीन बराबरी र एक हारको नतिजा निकालेको थियो ।
–सन् २००२ पछि कुनै पनि अफ्रिकी टिमले विश्वकपमा पहिलो दुई खेल जितेको छैन ।