साढे चार करोड लागतको बिमानस्थल १३ महिनादेखि बन्द

जाजरकोट । चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा यहाँका स्थानीयले सेवा पाएका छैनन्। पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा १३ महिनादेखि हवाई उडान बन्द भएको छ। उडानका लागि जहाजको कमी भएको भन्दै हवाई सेवा बन्द भएको हो।
नागरिक उड्डयन प्राधिकरणले उडान तालिका राखेपनि एउटा मात्र जहाज भएकाले उडान नभरेको हो। यो विमानस्थल रुकुममा भए पनि सेवासुविधा जाजरकोटले पनि लिने गरेको थियो। गत वर्षको जेठ दोस्रो सातादेखि बन्द रहेको हवाईसेवा हालसम्म सञ्चालनमा नआउँदा यस क्षेत्रका सर्वसाधारण मर्कामा परेका हुन्। साढे चार करोड लागतमा चार वर्ष अघि चौरजहारी विमानस्थल कालोपत्रे गरिएको थियो।
उडान बन्द हुँदा डोल्पा, जाजरकोट, सल्यान र पश्चिम रुकुमका स्थानीय यात्रु तथा विरामी समस्यामा परेको स्थानीय गोपाल रेग्मीले बताए।विमानस्थलबाट हुने हवाई सेवा बन्द भएपछि सिकिस्त बिरामी र जटिलखालका गर्भवती महिलालाई कच्ची बाटोमा जोखिम मोलेर गाडीमा लैजानुपर्ने बाध्यता रहेको चौरजहारी अस्पतालका प्रशासक डीलवहादुर गिरीले बताए।
बन्द बिमानस्थल