News खेल

स्पेन विजेता र पोर्चुगल उपविजेता बन्दै विश्वकपको नकआउट चरणमा प्रवेश

स्पेन विजेता र पोर्चुगल उपविजेता बन्दै विश्वकपको नकआउट चरणमा प्रवेश

एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘बि’ बाट स्पेन विजेता र पोर्चुगल उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् । स्पेन मोरक्कोसँग र पोर्चुगल इरानसँग बराबरीमा रोकिएपनि प्रिक्वाटरफाइनलमा दुबै टिम प्रवेश गरेका हुन् ।

 

समूह बि को विजेता बनेको स्पेनले समूह ए को उपविजेता बनेको रसियासँग प्रिक्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, समूह बि को उपविजेता बनेको पोर्चुगलको भेट समूह ए को विजेता बनेको उरुग्वेसँग हुने भएको छ ।

 

विश्वकप फुटबलअन्तर्गत समूह ‘बि’ मा भएको खेलमा स्पेनले मोरक्कोसँग २–२ गोलको बराबरी खेलको हो । खेलको १४ औं मिनेटमा मोरक्कोका खेलाडी बौटाइबले गोल गर्दै अग्रता दिलाएका थिए । बलियो टिम स्पेनविरुद्ध सुरुवाती समयमा नै गोल गर्दै मोरक्कोले उत्कृष्ट प्रदर्शन गरेको थियो । तर मोरक्कोको अग्रता ५ मिनेटसम्म मात्रै टिक्न सक्यो ।

 

 

 

खेलको १९औं मिनेटमा स्पेनका इस्कोले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको थियो । मोरक्कोले ८१ औं मिनेटमा गोल गर्दै २–१ गोलको अग्रता बनाएको थियो । आफ्नो अग्रतालाई पुनः एकपटक जोगाउन नसक्दा मोरक्कोले स्पेनसँग बराबरी खेल्नु परेको हो । स्पेनले खेलको अतिरिक्त समयमा गोल गर्दै २–२ गोलको बराबरी बनाएको थियो ।

 

त्यस्तै, समूह बि कै अर्को खेलमा पोर्चुगलले कमजोर इरानसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको ४५औं मिनेटमा पोर्चुगलका रिकार्डो करिज्माले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै १ गोलले अघि रहेको पोर्चुगलले दोस्रो हाफमा भने राम्रो खेल्न सकेन ।

 

पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा भने पेनाल्टी पाएको थियो । खेलको ५६औं मिनेटमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले प्रहार गरेको पेनाल्टी इरानका गोलकिपरले रोकेका थिए ।

 

खेलको अन्तिम समयमा पोर्चुगलका खेलाडीले आफ्नो डिबक्सभित्र फल गरेपछि इरानले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट गोल गर्दै इरानले पोर्चुगलसँग १–१ गोलको बराबरी खेलेको हो ।

 

यो समूहबाट इरान र मोरक्को भने विश्वकपको समूह चरणबाटै बाहिरिएका छन् ।

विश्वकप फुटबल स्पेन पोर्चुगल

विशेष