News व्यापार

प्रबन्ध निर्देशक राजभण्डारी ‘लालछाप’ बनेपछि टेलिकममा आन्दोलन

प्रबन्ध निर्देशक राजभण्डारी ‘लालछाप’ बनेपछि टेलिकममा आन्दोलन

काठमाडौं । नेपाल टेलिकमका प्रबन्धक निर्देशक कामिनी राजभण्डारी सोमबार राती ३ बजेसम्म घेराउमा परेकी छन् । नेपाली कांग्रेसआबद्ध नेपाल टेलिकम वर्कस युनियनको आह्वानमा सोमबार साँझदेखि टेलिकम व्यवस्थापनले दुई तिहाइ बहुमत सरकारको रबर स्टायम्प भएर काम गर्न थालेकाले युनियनले विरोधस्वरूप घेराउ कार्यक्रम राखेका हुन् । प्रबन्ध निर्देशक राजभण्डारीलाई सोमबार साँझदेखि राती ३ बजेसम्म शान्तिपूर्ण धर्नामार्फत आफ्नै कार्यकक्षमा बन्दी बनाइएको थियो । 


युनियनका कार्यवाहक अध्यक्ष नन्दकुमार कार्कीका अनुसार कामिनी राजभण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिकममा सुधार गर्ने सर्तमा अभयदान दिएपछि राजभण्डारीले टेलिकममा दिनरात ‘रातो रातो’ मात्र काम गर्न थालेकीले वाध्य भएर शान्तिपूर्ण धर्ना कार्यक्रममा उत्रन परेको बताए । 


उनका अनुसार टेलिकमको व्यवस्थापनले प्रोजेक्ट वर्कमा मनोमालिन्य, पक्षपात र कर्मचारी विनियमावलीमा असन्तोषपूर्ण कार्य गरेकाले यसको सुधारसहित चित्तबुझ्दो जवाफका खातिर आन्दोलनमा उत्रन परेको हो । 


प्रबन्ध निर्देशक राजभण्डारीले आफ्नो पद जोगाउने नाममा टेलिकमजस्तो ऐतिहासिक धरोहर रहेको संस्थालाई नेपाल कम्युनिस्ट पार्टीको सहोदर बन्धुको कार्यालयको रूपमा विकास गर्न थालेकाले स्वयं नेकपा सम्बद्ध कर्मचारीले पनि नाक खुम्च्याउन थालेको टेलिकमकै उच्चपदस्थ अधिकारीहरूले बताएका छन् । प्रबन्ध निर्देशक राजभण्डारी कार्यालय आउने बित्तिकै आफ्ना सहकर्मीहरूलाई बोलाएर ‘फलाना ढिस्काना सचिव, मन्त्री, प्रधानमन्त्रीका सल्लाहकार, वा प्रचण्ड सचिवालयबाट यस्ता यस्ता निर्देशन आएको छ, यो तुरुन्त कार्यान्वयन गरेर मलाई केही घन्टाभित्र वर्क प्रोग्रेस रिपोर्ट दिनुस्’ भनेर अह्राउने गरेको देख्दा ती उच्चपदस्थ कर्मचारीहरूले एकआपसमा मुखामुख गरेर बसेको दैनिकीजस्तै भएको स्रोतले बताएको छ ।

 

नेपाल टेलिकममा पछिल्लो पटक फोर जी नेटवर्क विस्तार गर्ने विषयमा अथाह घोटाला भएकोमा व्यापक असन्तोष उत्पन्न भएको छ ।  


टेलिकमले चिनियाँ हुवावे नामक कम्पनीलाई टेण्डर पारिने गरी तथा अन्य कम्पनीहरूले टेण्डर हाल्न नसक्ने गरी इसाईहरूको महान् चाडको अवसर पारेर टेण्डर नोटिस प्रकाशित गरिएको हुनाले त्यस टेण्डर नोटिस प्रकाशनमा धाँधली गरिएकोमा कांग्रेसआबद्ध युनियनको खबरदारी स्वरूप धर्ना कार्यक्रम लक्षित भएको बताइएको छ । यसको अतिरिक्त उक्त टेण्डर नोटिस प्रकाशनमा युरोपेली र अन्य मुलुकका इच्छुक र प्रतिस्पर्धी कम्पनीहरूले भाग लिन नसकुन भन्ने अभीष्ट पूरा गर्न काम भएको सम्बन्धमा पनि सत्यतथ्य  छानबिन गर्न युनियनले माग गरेको छ । 


नेपाल टेलिकमले आर्थिक वर्ष ०७४(०७५ मा टावर विकास र विस्तार गर्न गरेका यावत् कार्यको सही विवरण कसैलाई पनि उपलब्ध नगराई नागरिकको सुसूचित हुने अधिकारलाई समेत कुण्ठित पारेको युनियनको आरोप रहेको छ ।

 

युनियनले सोमबार राती ३ बजेसम्म घेराउ गरेपछि कर्मचारीहरूबीच धर्ना कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनी सल्लाह गर्न स्थगित गरिएको सो धर्ना कार्यक्रम आज मंगलबार दिउँसो २ बजेदेखि पुनः सुरु हुने कार्यवाहक अध्यक्ष कार्कीले नेपाल आजलाई जानकारी दिए । 


  
 

कामिनी राजभण्डारी टेलिकममा

विशेष