News मुख्य समाचार

चीनसँगको सम्झौता प्रभावकारी कार्यान्वयन गरिने

चीनसँगको सम्झौता प्रभावकारी कार्यान्वयन गरिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो चीन भ्रमणको सबै सम्झौताहरू प्रभावकारी कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएको बताएका छन् । यही ५ असारदेखि १० गतेसम्म चीनको औपचारिक भ्रमणमा गएका ओलीले भ्रमणको उपलब्धिबारे मंगलबार संसद्लाई जानकारी गराएका हुन् । भ्रमणका क्रममा चीनका राष्ट्रपति सि जिनपिङसँग र प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता भएको र चिनियाँ नेतृत्वबाट देशलाई विकासको बाटोमा नयाँ चरणमा पु¥याउने आशा र अपेक्षा व्यक्त भएको प्रधानमन्त्रीले बताए ।

 

प्रधानमन्त्री ओलीले भने, ‘चीनमा रहँदा राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र आर्थिक विकाससँगै समृद्ध नेपाल र सुखी नेपालीको अभियान सफल हुने विश्वास व्यक्त भएको छ ।’ प्रधानमन्त्री ओलीले चीनसँग भएको सम्झौतालाई सदनमा जानकारी गराउँदै भने, ‘नेपाल र चीनबीच हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको बृहत्तर फेमवर्कभित्र रहेर रेल्वे, सडक, हवाई मार्ग र सञ्चारजस्ता क्षेत्रमा सहयोग बढाउने कुरामा दुवै पक्षबीच सहमति भएको छ ।’

 

भ्रमणको अवसरमा चिनियाँ उच्च नेतृत्वसँग भएका सारभूत र व्यापक छलफलपछि विभिन्न सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको कुरापनि उनले सदनमा उल्लेख गरे । प्रधानमन्त्री ओलीका अनुसार आगामी दिनका लागि दुई देशको सम्बन्धलाई आगामी दिनका लागि दिशा निर्देशन गर्न १४ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भएको छ ।

 

 दुवै पक्षबीच हस्ताक्षर भएर आदानप्रदान भएका सम्झौता तथा सहमति पत्रबाट नेपालको आर्थिक पक्षको दायरालाई फराकिलो बनाउन मद्दत पुग्ने कुरालाई विश्वस्त पार्दै उनले भने, ‘दुई देशबीच सम्पन्न रेल्वे कनेक्टिभिटी र सहयोगसम्बन्धी समझदारी महत्वपूर्ण रहेको छ । यसको कार्यान्वयबाट केरुङ रसुवागढी काठमाडौं रेलमार्ग विकासका लागि चिनियाँ अनुदानमा पूर्व सम्भाव्यता अध्ययन शीघ्र सम्पन्न भई सहयोगसम्बन्धी कार्यान्वयन अगाडि बढ्नेछ । यसबाट काठमाडौं पोखरा लुम्बिनी रेलमार्ग विकासका लागि पनि आधार तयार हुनेछ ।’

 


ओलीले चीन भ्रमण जानुअघि नै भ्रमणको उद्देश्यबारे सदनमा जानकारी दिएको थियो । भ्रमणलाई सफल र उपलब्धिपूर्ण बनाउन भ्रमण दलका गृहमन्त्री, परराष्ट्रमन्त्री, ऊर्जा, जलस्रोतमन्त्री, पूर्वाधार तथा भौतिक योजनामन्त्री, राजनीतिक सल्लाहकार, मुख्यसचिव, पराराष्ट्र सचिव र सम्बन्धित प्रतिनिधिहरू समेतको टोलीलाई प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गरेका छन् । 

विशेष