News खेल

ब्राजिल भर्सेस सर्बियाः दुवैलार्इ अवसर र चुनौती उस्तै

ब्राजिल भर्सेस सर्बियाः दुवैलार्इ अवसर र चुनौती उस्तै

काठमाडाैं । रसियामा जारी विश्वकप फुटलबअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अाज सर्वाधिक विश्वविजेता ब्राजिल र सर्बिया मैदानमा उत्रिँदै छन् । 

 

ब्राजिल र सर्बियाबीचको खेल राती ११ः४५ बजे मस्काेस्थित स्पार्तक रंगशाला हुँदैछ । समूहमा ब्राजिल ४ अंक सहित शीर्ष स्थानमा छ भने सर्बिया तीन अंक सहित तेस्रो स्थानमा छ । ब्राजिल र सर्बियालार्इ सम्भावना र खतरा दुवै छ । 

 

आजको खेल जिते ब्राजिल समूह विजेताको रूपमा नकआउट चरणमा पुग्नेछ । बराबरीको अवस्थामा पनि ब्राजिल नकआउट चरण पुग्न सक्छ तर त्यसका लागि स्विट्जरल्याण्डले कोष्टारिकालाई पराजित गर्नुपर्छ।

 

सर्बिया भने ब्राजिललाई पराजित गर्नै पर्ने दबाबमा छ । बराबरी गरेको अवस्थामा पनि सर्बिया नकआउट चरण पुग्न सक्छ। तर त्यसका लागि कोष्टारिकाले एकभन्दा बढी गोल अन्तरले स्विट्जरल्याण्डलाई पराजित गर्नुपर्छ।

 

ब्राजिलबाट उसका समर्थकले ठूलो अपेक्षा गरेका छन् । त्यसैले पनि उसमा दबाब बढी छ । दबाबमा रहेको ब्राजिलविरुद्ध मौका खोस्ने तयारीमा सर्बियाको रणनीति हुनेछ । 

 

तर पछिल्ला १३ खेलमा अपराजित ब्राजिललाई पराजित गर्नु सर्बियाका लागि सहज छैन। ब्राजिलले पछिल्ला ९ खेलमा जित हात पार्दै ४ खेलमा बराबरी गरेको छ । नेइमारले ८७ खेलमा ५६ गोल गरिसकेका छन्।

 

जारी विश्वकपमा ब्राजिलले यसअघि कोस्टारिकासँगको खेलमा रहेकै प्लेइङ् इलाभेन र रणनीति लिने अपेक्षा छ । समूह चरणको आफ्नो दोस्रो खेलमा ब्राजिलले कोस्टारिकालाई २–० ले हराएको थियो । 

 


उसको जितमा फिलिप कोन्टिन्हो र नेइमारले इन्जुरी समयमा गोल गरेका थिए । पहिलो खेलमा भने ब्राजिल स्वीट्जरल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो । सर्बियाले पहिलो खेलमा कोस्टारिकालाई १–० ले हराएको थियो भने दोस्रो खेलमा स्वीट्जरल्याण्डसँग २–१ ले हारेको थियो ।

हेड–टू–हेड

युगोसलाभियासहित सर्बिया र ब्राजिलबिच विश्वकपमा यसअघि चार पटक भेट भएको छ । युगोसलाभियाबाट छुट्टिएर सर्बिया बनेको हो । यसअघिका चार भेटमा दुवै पक्षले एक एक खेल जितेका छन् भने दुई खेलमा बराबरी भएको छ ।

 

सर्बिया (युगोसलाभियासहित) र ब्राजिलबीच सबै गरेर १९ पटक भेट भएको छ । यसमा सर्बिया मात्रै दुईपटक विजयी भएको छ । १० खेलमा हारेको सर्बिया सात खेलमा बराबरीमा रोकिएको छ ।

 

सर्बिया स्वतन्त्र देश भएपछि ब्राजिलसँगको यो भेट दोस्रो हुनेछ । यसअघि सन् २०१४ को जुनमा भएको मैत्रीपूर्ण खेलमा स्वतन्त्र राष्ट्रका रुपमा सर्बियाले पहिलो पटक ब्राजिलको सामना गरेको थियो । त्यो बेला ब्राजिल १–० ले विजयी भएको थियो ।
 

ब्राजिल सर्बिया विश्वकप फुटलब

विशेष