व्यापार

नेपाल टेलिकमभित्र भद्रगोल, कर्मचारी उत्रिए ‘मैदान’मा  (भिडियोसहित)

नेपाल टेलिकममा व्याप्त भ्रष्टाचारविरुद्ध यसरी उत्रिए कर्मचारी

नेपाल टेलिकमभित्र भद्रगोल, कर्मचारी उत्रिए ‘मैदान’मा  (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेससम्बद्ध नेपाल टेलिकम वर्कस युनियनले टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको पूर्वाग्रहपूर्ण कारबाहीविरुद्ध बुधबार पनि धर्ना जारी राखेका छन् । प्रबन्ध निर्देशक राजभण्डारीले  युनियनले पेस गरेका मागहरूको उचित सुनुवाइ नभएमा अझ कडा संघर्ष गर्ने युनियनका कार्यवाहक अध्यक्ष नन्दकुमार कार्कीले बताए । 


नेपाल आजसँग एक विशेष कुराकानी गर्दै कार्यवाहक अध्यक्ष कार्कीले नेपाल टेलिकम अहिले वाम घटकको रूपमा क्रियाशील भइरहेको आरोप पनि लगाए ।े प्रबन्ध निर्देशक राजभण्डारीले टेलिकमको सुधार र कर्मचारीको हितका लागि युनियनले यसअघि प्रस्तुत गरेका विभिन्न मागहरूप्रति टेलिकमको मुख्य व्यवस्थापन उदासीन रहेकाले वाध्य भएर शान्तिपूर्ण धर्ना तथा घेराउ कार्यक्रम अवलम्बन गर्नु परेको कार्कीले बताए । युनियनले आफ्ना मागहरू सम्बोधन नभएपछि प्रबन्ध निर्देशक राजभण्डारीलाई सोमबार साँझदेखि मंगलबार राती ३ बजेसम्म उनको आफ्नै कार्यकक्षमा  बन्दी बनाइएको थियो । 

 


कार्कीका अनुसार संस्थागत सुधारका लागि मध्यपहाडी लोकमार्गमार्फत अप्टिकल फाइबर विस्तार गरी सेवालाई दुरगामी बनाउनुपर्ने,  अहिले काठमाडौं र पोखरामा मात्रै विस्तार गरिएको फोर जी, एफटिई सेवालाई देशभर विस्तार गर्नुपर्ने, टेलिकमको सेवालाई द्रूत गतिको बनाउनुपर्ने, एमआइपी, सिडिएमए सेवा विस्तार कार्यान्वयनमा ल्याउनुपर्ने, टेलिकमको डाटा बिजनेस गुमनाम भएकाले यसलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने मागहरू छन् । यसैगरी वर्षौंदेखि काम गरिरहेका कर्मचारीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने, कर्मचारीलाई मनोमानी रूपमा सरुवा नगरी सरुवा नीतिको पूर्णपालना गरिनुपर्ने, कर्मचारी सेवा निवृत्त हुँदा तत्काल सेवा सुविधा दिनुका साथै पेन्सनको प्रभावकारी व्यवस्था गरिनुपर्नेलगायत माग  युनियनले राखेका छन् ।  

 

 

यता टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले युनियनको आन्दोलन र उनीहरूका मागका विषयमा द्विपक्षीय छलफल गरेर अघि बढ्ने बताइन् । 
उनले युनियनको माग आउनुभन्दा पहिले नै टेलिकमले देशव्यापी फोर जी सेवा विस्तारका लागि सार्वजनिक खरिद ऐनअन्तर्गत रहेर टेण्डर आह्वान गर्ने तयारी गरिसकेको जानकारी दिइन् । उनका अनुसार विविध प्राविधिक कारणले फोर जी सेवा अहिले नै देशव्यापी गर्न नसकेपनि केही सयमभित्र विस्तार गर्ने टेलिकमको योजना रहेको बताइन् । 

 


समाचार संकलनमा अवरोध

 नेपाल टेलिकममा भइरहेको धर्ना कार्यक्रमको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई समाचार संकलन गर्न नेपाल टेलिकमले रोक लगाएको छ । धर्नास्थल टेलिकमको केन्द्रीय कार्यालय पुगेका नेपाल आजलगायत सञ्चारमाध्यमका पत्रकारहरूलाई समाचार संकलनमा रोक लगाइएको हो । 
टेलिकमका कार्यकारी निर्देशक राजभण्डारीको कार्यकक्ष अघि धर्नामा बसेका युनियन आबद्ध कर्मचारीको फोटो खिच्न र समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई तल गेटमै बसेका सुरक्षाकर्मीहरूले ‘माथिको आदेश’ भन्दै प्रवेश निषेध गरिएको थियो । धर्नाको समाचार संकलनमा अवरोध गरेर टेलिकमले स्वतन्त्र रूपमा समाचार संकलन गर्न पाउने सञ्चारकर्मीको अधिकार कुण्ठित बनाएको छ । 

 


टेलिकममा श्रम शोषण 


नेपाल टेलिकममा कार्यरत तल्लो तहका कामदारमाथि संस्थाले श्रम शोषण गर्दै आएको खुलेको छ ।  टेलिकमले दैनिक ज्यालादारीमा काम गर्ने अस्थायी कर्मचारी र कामदारलाई काम गराएबापतको उचित ज्याला  नदिने गरेको युनियनका अध्यक्ष कार्कीले खुलासा गरेका हुन् । 
उनले श्रमिकका लागि सरकारले तोकेको न्यूनतम ज्यालासमेत टेलिकमले नदिएर यहाँ काम गर्ने कामदारमाथि ठूलो श्रम शोषण गरिरहेको आरोप लगाए ।  कामदारले उचित ज्यालाको माग गर्दासमेत कतिपय कामदार र युनियनआबद्ध कर्मचारीले धम्की खेप्नुका साथै कारबाहीसमेत भोग्नु परेको बताइएको छ ।

 


नेपाल टेलिकममा भएका यावत् घोटाला एवं अनियमितताविरुद्ध नेपाल नागरिक अधिकार अभियानले पनि आन्दोलन गर्ने चेतावनी दिएको छ । 
अभियानकर्ता हरिराम रिमालले नेपाल आजसँग कुराकानी गर्दै टेलिकमभित्र भएका असंगत कार्यको भण्डाफोर गर्नु आम करदाता नागरिकको पनि कर्तव्य भएकाले विकृति र विसंगतिविरुद्ध आफूहरू जुनसुकै आन्दोलन गर्न तयार रहेको बताए ।  

 

 
युनियनका मागहरू :


१) मध्यपहाडी लोकमार्गमार्फत अप्टिकल फाइबर बिच्छ्याएर  दुरगामी सेवा विस्तार गर्नुपर्ने । 
२) फोर जी, एलटिई सेवालाई देशव्यापी विस्तार गर्नुपर्ने । 
३) टेलिकमका हरेक सेवा द्रूत गतिमा प्रभावकारी बनाइनुपर्ने । 
४) १० मिलिनियम जिएसएम र २ एमआइपी सिडिएमए सेवा विस्तार गरी प्रभावकारी कार्यान्वयन गरिनुपर्ने । 
५) टेलिकमको गुमनाम रहेको डाटा विजनेसलाई प्रभावकारी बनाइनुपर्ने । 
६) कर्मचारीहरू सेवा निवृत्त हुँदा सहज रूपमा सुविधा दिनुका साथै पेन्सनलाई प्रभावकारी बनाइनुपर्ने । 
७) कामदारलाई सरकारले तोकेअनुसारको उचित ज्याला दिनुपर्ने । 
८) कर्मचारीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिनुपर्ने । 
९) कर्मचारी सरुवा नीतिको अक्षरशः पालना गरी त्यसैअनुरूप कार्यान्वयन तथा सरुवा, बढुवा गरिनुपर्ने । 
१०) प्रत्येक नेपालीको घरघरमा फाइबर नेट इन्टरनेटको पहुँच पु¥याउनुपर्ने ।  

र यो पनि,

प्रबन्ध निर्देशक राजभण्डारी ‘लालछाप’ बनेपछि टेलिकममा आन्दोलन

 


 

कामिनी राजभण्डारी नेपाल टेलिकम

विशेष