News मुख्य समाचार

सुनकाण्डमा संलग्न उच्च तहका व्यक्तिलाई पनि कारबाही हुन्छ : गृहमन्त्री थापा

सुनकाण्डमा संलग्न उच्च तहका व्यक्तिलाई पनि कारबाही हुन्छ : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुनकाण्डमा संलग्न रहेका उच्च तहका व्यक्तिलाई पनि छिट्टै कारबाही गरिने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्रालयको विनियोजित बजेटबारे सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले उच्च निकायका व्यक्तिहरु पनि अनुसन्धानको घेरामा आएकाले अनुसन्धानपछि कानुनी दायरामा ल्याउने बताएका हुन् । 

 

४ वर्ष यता ३८ क्विन्टल सुन तस्करी भएको र त्यसमा उच्च राजनीतिक र गृहप्रशासनको संलग्नता हुन सक्ने तर्फ सांसदले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । गृहमन्त्री थापाले अध्ययन अनुसन्धान र छानविनपछि उच्च तहका पात्रहरु पनि कानुनको घेरामा आउने प्रतिवद्धता जाहेर गरे ।

 

सीमासुरक्षा र सम्भावित अतिक्रमण रोक्न आवश्यक व्यवस्था मिलाइएको भन्दै उनले  आगामी वर्ष १० वटा सीमासुरक्षा पोष्ट विस्तार गर्ने लक्ष सरकारले लिएको बताए ।  उनले नेपाल प्रहरीको थप दरबन्दी श्रृजना गरिएकाले दरबन्दी विस्तारपछि मुलुकका सबै स्थानीय तहमा प्रहरी पोष्ट स्थापना हुने प्रतिवद्धता व्याक्त गरे । 

 

त्यसैगरी प्रहरी संगठनलाई आधुनिकीकरण गर्ने तर्फ पनि योजना तय गरिएको जानकारी उनले दिए । उनले सम्झौताहरु पालना नगरी विकास निर्माणका काम अलपत्र पार्ने ठुला साना सबै ठेकेदारलाई कारबाही गरिने बताए । उनले विदेशी राजदूतले विभिन्न जिल्लामा गएर आफुखुसी विकास निर्माणमा खर्च गर्न नसक्ने व्यवस्था कानुनमा नै स्पष्ट भएकाले त्यसो भएको भए छानविन गरेर रोकिने प्रतिवद्धता जनाए ।

 

गृहमन्त्री थापाले शान्ति, स्थायित्व सुशासन कायम गराउनु सरकारको दायित्व भएको र त्यस दायित्व पूरा सरकार प्रतिवद्ध रहेको बताए । सामाजिक अपराध र विभेदको अन्त्यको बारेमा शान्ति सुरक्षाको वातावरण मिलाई समृद्धिको बाटोमा रहेका सबै किसिमका हिंसाविरुद्ध कानुनको प्रभावकारी कार्यान्वयनका लागि थप व्यवस्था गरिएको उल्लेख गर्दै उनले बझाङलगायतका जिल्लामा भएका महिला हिंसाका घटनाको छानविन भइरहेको बताए ।

 

आपराधिक गतिविधि नियन्त्रणका लागि कानुन बमोजिम प्रशासनिक निकायलाई थप प्रभावकारी बनाइएको, भ्रष्ट्राचार कुकृति र जनविरोधी क्रियाकलापलाई निष्तेज पार्ने काम सुरु भइसकेको उल्लेख गर्दे उहाँले अपराधमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउने बताए ।

 

मन्त्री थापाले विपद व्यवस्थापनका लागि चौबीसै घण्टा तयार रहने गरी मनसुन आपतकालीन योजना २०७५ तयार गरी लागु भइसकेको तथा आन्तरिक सुरक्षा तथा सुव्यवस्था ऐन र गृह प्रशासन ऐन तर्जुमाको गतिलाई तीव्रता दिइएको जानकारी दिए । कारागारको  भौतिक संरचना र अन्य संरचनामा सुधारको काम भैरहेको पनि उनले जानकारी दिए ।

गृहमन्त्री रामबहादुर थापा सुनकाण्ड कारबाही

विशेष