नेविसंघद्वारा देशव्यापी आन्दोलनकाे घाेषणा, यस्ता छन् कार्यक्रम
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल विद्यार्थी संघले देशव्यापी अान्दाेलनकाे घाेषणा गरेकाे छ । अनियन्त्रित महँगी, पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि र एसईई परीक्षाको नतिजामा गरिएको लापर्वाहीविरूद्ध देशभर आन्दोलन शुरु गरेको छ ।
आन्दोलनको कार्यक्रमअन्तर्गत आज ७७ वटै जिल्ला शिक्षा समन्यव समितिको कार्यलयमा नेवि संघका कार्यकर्ताले एक घण्टा घेराउ गरेका छन् । सङ्घका सभापति नैनसिंह महरले असार १५ देशभरका क्याम्पसअगाडि चक्का जाम गरिने र १७ गते देशभरका सरकारी साधन गुडाउनमा रोक लगाइने बताए ।
यस्तै, असार १८ र १९ गते कोणसभा तथा पर्चा वितरण र २० गते सतहत्तरै जिल्ला प्रशासन कार्यालय एवम् काठमाडौंमा सिंहदरवार घेराउ गरिने कार्यक्रम नेवि संघले तय गरेको छ । बिहीबार सभापति महरद्वारा जारी विज्ञप्तिमा पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि फिर्ता र एसईई परीक्षाको नतिजामा लापर्वाही गर्नेलार्इ कारबाहीकाे माग गरिएकाे छ ।
'शिक्षामन्त्रीको राजीनामा, एसईई बोर्ड अध्यक्षलगायत पदाधिकारीमाथि कारबाही र स्वतन्त्र छानविन समिति गठनका लागि नेविसंघ जाेडदार माग गर्दछ ।' विज्ञप्तिमा भनिएकाे छ । मागको सुनुवाई नभए आन्दोलनका थप चर्का कार्यक्रम अघिसारने सभापति महरले जनाकारी दिए।