News मुख्य समाचार

वैदेशिक रोजगारीमा रहेका कामदारको कानूनी प्रतिरक्षा सम्बन्धी निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत

वैदेशिक रोजगारीमा रहेका कामदारको कानूनी प्रतिरक्षा सम्बन्धी निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका–२०७५ स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशिका स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

 

बैठकले चीनका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीनको औपचारिक भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।  भ्रमण अपेक्षा अनुरुप नेपालको हितमा रहेको निष्कर्षमा मन्त्रिपरिषद् पुगेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

 

यस्तै सरकारले कर्जा सुरक्षण नियमावली, २०७५ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले कृषि विकास रणनीति कार्यान्वयनका लागि युरोपेली संघबाट प्राप्त हुने ४० मिलियन यूरो अर्थात झण्डै ५ अर्ब ६ करोड अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।

 

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन विधेयक–२०७५ संसदमा पेश गर्न स्वीकृत प्रदान गरेको छ । यस्तै निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृतको छनोट, सेवाको शर्त, पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी नियमावली–२०७५ र निक्षेप सुरक्षण नियमावली–२०७५ लाई पनि स्वीकृत गरेको छ ।
 

वैदेशिक रोजगारी कामदार स्वीकृत मन्त्रिपरिषद् निर्देशिका

विशेष