गृहमन्त्री बादललार्इ कांग्रेस प्रवक्ताकाे प्रश्नः लोकतन्त्र मर्यादित हुन्छ कि नियन्त्रित?
'उचित समयमा माइतीघरको निषेधाज्ञा तोडिनेछ'
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उचित समयमा निषेधाज्ञा तोडिने चेतावनी दिएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले माइतीघरमा निषेधाज्ञा गर्ने सरकारको निर्णयप्रति विराेध जनाए ।
शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत अमेरिकामा ह्वाइटहाउस सामुन्ने, स्विट्जरल्यान्ड या जापानमा सरकारको नाकैअघि विरोध प्रदर्शन गर्न पाइने तर्क गरेका छन्।शर्माले सिंहदरबार नजिक माइतीघर मण्डलामा समेत प्रदर्शनमा रोक लगाउने सरकारलाई स्मरण गराँउदै भनेका छन्, ‘यो उत्तर कोरिया होइन नेपाल हो।’ शर्माले सरकारको निर्णयको नियतमा खोट रहेको जनाएका छन्।
लोकतन्त्रलाई मर्यादित भन्दा पनि नियन्त्रित गर्न लागिएको शर्माले आरोप लगाएका छन्। प्रदर्शन कुनै मिति तोकेरभन्दा पनि परिस्थितिले सिर्जना हुने उनले बताए। सरकारी निर्णयका विरुद्ध सडकमा आएको समय माइतिघर निषेधित क्षेत्र पनि तोडिने उनले प्रस्ट्याए।
सरकारको बजेटका विषयमा कांग्रेसका संघीय सांसदलाई प्रश्न उठाउन नदिनु, महिला सदस्यलाई ट्याउँ ट्याउँ नगर भन्नु र महँगीबारे सोधिएको प्रश्नलाई मजाकमा उडाउनु सरकारको गलत नियत भएको शर्माले बताए। सरकारले साउन १ देखि लागू हुनेगरी माइतीघरलाई जुलुस, धर्ना गर्न निषेधित क्षेत्र घोषणा गरेको छ।
विश्वप्रकाश शर्मा गृहमन्त्री बादल माइतीघर