News व्यापार अर्थ समाज प्रदेश ३

आयो अन्नपूर्ण ‘वाइड बडी’ जहाज 

आयो अन्नपूर्ण ‘वाइड बडी’ जहाज 

काठमाडौ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आफ्नो व्यावसायिक उडानको इतिहासमा पहिलोपटक वाइड बडी जहाज ल्याएको छ। लामो दुरीमा व्यावसायिक उडान गर्न र धेरै यात्रु बोक्ने जहाज किन्न बहस चलेको १० वर्षपछि एयरलाइन्सले एयरबसको ए ३३०–२०० सिरिजको वाइड बडी जहाज ल्याएको छ।

 

खरिद प्रक्रिया सुरू भएको करिब २ वर्षपछि एयरलाइन्सको पहिलो वाइड बडी जहाज  बिहीबार बिहान सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। जहाज निर्माता कम्पनी एयरबसको फ्रान्समा रहेको कारखानाबाट एयरबसका पाइलटहरूले उक्त जहाज उडाएर ल्याएका हुन्।

 

लामो दुरीमा उडान गर्न मिल्ने २७४ सिट भएको जहाजमा १८ बिजनेस क्लास सिट रहेका छन्। जहाजमा २–२–२ फर्म्याटका १८ बिजनेस क्लास, २–४–२ फर्म्याटका इकनोमी क्लासका सिट छन्। अन्नपुर्ण नाम दिइएको जहाजको नेपाली दर्ता नम्बर ‘नाइएन एएलवाइ’ रहेको छ।

 

वाइड बडी जहाज नेपाल एयरलाइन्समात्र भन्दा पनि देशकै पर्यटन उद्योगमा कोशेढुंगाको रुपमा सावित हुने एयरलाइन्सका प्रबन्ध निर्देशक सुगरत्न कंसाकारले बताए। यो जहाजले एकपटक धेरै यात्रुमात्र होइन लामो दुरीमा सिधा उडान गर्न सक्ने भएकोले नेपाललाई बाँकी विश्वसँग सम्पर्क स्थापित गर्न सहयोगी हुने उनको भनाइ छ।

 

नेपालमा विदेशी पर्यटक कम आउनुको कारण महंगो र झन्झटिलो हवाइ यात्रा रहेको उनको भनाइ छ। अब राष्ट्रिय ध्वजावाहकले युरोप तथा अमेरिकाका मुख्य हव विमानस्थलमा काठमाडौंबाट सिधा उडान गर्ने घोषणा गरे। जहाज आएपछि सुरक्षा, मर्मत सम्भार र दैनिक कार्य संचालनलाई चुस्तदुरुस्त बनाउनु पर्ने र सबैले त्यसैगरी काम गर्नु पर्ने उनको भनाइ छ।

 

पर्यटन मन्त्री रवीन्द्र अधिकारीले भ्रमण वर्ष २०२० लाई सफल पार्न वाइड बडी जहाजको भूमिका महत्वपूर्ण हुने बताए। अहिलेसम्म प्रत्यक्ष हवाइ सम्पर्क नभएका ठाउँमा यसले जोड्ने भएकोले पर्यटकहरूको आगमन यसबाट बढ्ने उनको विश्वास छ।

 

जहाज आएपछि यसको संचालन र व्यवस्थापनमा ध्यानु दिनु पर्ने उल्लेख गर्दै मन्त्री अधिकारीले नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी बनाउन सन् २०१९ भित्रै थप २ न्यारो बडी जहाज खरिदको लागि सैद्धान्तिक सहमति दिइसकिएको बताए।

 

२०७३ चैतमा एयरलाइन्सले अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग खरिद सम्झौता गरेको थियो। ०७३ कात्तिकमा जहाज किन्न गरेको विश्वव्यापी टेन्डरमा एएआर कर्पोरेसनले एउटा विमानको १० करोड ४८ लाख अमेरिकी डलरको दरमा दुई वटा विमान उपलब्ध गराउने प्रस्ताव गरेको थियो।

 

अर्को जहाज  २५ जुलाईमा आउने कंसाकारले जानकारी दिए। आज आएको जहाजले नागरिक उड्डयन प्राधिरणबाट अनुमति पाएपछि साउन १६ नियमित उडान सुरू गर्ने एयरलाइन्सले जानकारी दिएको छ।

 

एउटा वाइड बडी जहाज उडाउन ८ क्याप्टेन र ८ कोपाइलट चाहिन्छन्। यसमा सुरुमा ४ जना क्याप्टेन र ६ जना कोपाइलट एयरलाइन्सले नै तयार गरिरहेको र अहिले २ जनामात्र क्याप्टेन तयार भएको कंसाकारले जानकारी दिए।

जहाज वाइड बडी

विशेष