News व्यापार अर्थ कर्पोरेट प्रदेश ३

हजारौं वस्तुको आयात शुल्क घटाउँदै चीन

हजारौं वस्तुको आयात शुल्क घटाउँदै चीन

 काठमाडौं  । चीनले एशियाली देशहरुबाट आयात हुने हजारौं वस्तुमा लाग्दै आएको आयात महसुल घटाउने योजना बनाएको छ । भारतबाट आयात हुने केमिकल फार्म प्रडक्ट र मेटललगायतका वस्तु समेत गरी उसले केही एशियाली देशका ८ हजार ५ सय भन्दा बढी वस्तुको महसुल घटाउन थालेको हो । अमेरिकासँगको विद्यमान व्यापार युद्धका कारण एशियाली देशलाई राहत दिन यसो गर्न थालिएको विश्लेषण गरिएको छ ।

 

‘चीनले भारत, दक्षिण कोरिया, बङ्गलादेश, लओस र श्रीलङ्काबाट आयातित ८ हजार ५ सय ४९ वस्तुमा आयात महसुल घटाउने वा खारेज गर्दैछ,’ भारतका लागि चिनियाँ राजदूत लुओ चाओहुईले बुधवार एक ट्विटमा भनेको भन्दै भारतीय समाचार संस्था इकोनोमिक टाइम्सले अनलाइन संस्करणमा समाचार छापेको हो । यी वस्तुको सूचिमा केमिकल, कृषि र औषधि, भट्भास, लत्ताकपडा, स्टिल र आल्मुनियम उत्पादनहरु भएको बताइएको छ ।

 

यसले व्यापार असन्तुलन घटाउन मद्दत गर्ने अपेक्षा लुओले गरेका छन् । व्यापार विज्ञ र वार्ताकारहरुले भने यसलाई रणनीतिक पहलको सङ्ज्ञा दिएका छन् । चीनले छूट दिन थालेका अधिकांश वस्तुहरु अमेरिकाबाट पनि आयात गर्दै आएको छ । तर व्यापार युद्धका कारण अमेरिकाबाट आउने वस्तुहरुमा भने उच्च महसुल लगाइएको छ ।

 

चीनले जुन १७ मा अमेरिकाबाट आयात हुने भटमास, केमिकल उत्पादन र औषधि उपकरणमा २५ प्रतिशत महसुल लगाउने घोषणा गरेको थियो । भारतीय सञ्चार माध्यमहरुमा सार्वजनिक समाचारलाई पत्याउने हो भने चीनले भारत, दक्षिण कोरिया, बङ्गलादेश, लाओस र श्रीलङ्काबाट आयातित भटमासमा अहिले ३ प्रतिशत रहेको शुल्क घटाएर शून्यमा झार्नेछ । अमेरिकासँगको व्यापार तनाव बढेपछि चीनले अन्य देशबाट आयायातित वस्तुमाथि शुल्क घटाउन थालेको यो दोस्रो पटक हो ।

आयात शुल्क

विशेष