News देश प्रदेश ७

भ्रष्टाचार गरेको भन्दै विप्लव कार्यकर्ताले गाउँपालिका अध्यक्षलाई कालोमोसो दले

भ्रष्टाचार गरेको भन्दै विप्लव कार्यकर्ताले गाउँपालिका अध्यक्षलाई कालोमोसो दले

बझाङ । नेकपा (विप्लव) का कार्यकर्ताले बझाङको मष्टा गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कठायतलाई कालोमोसो दलेका छन् । उनलाई गाउँपालिका कार्यालय परिसर नजिकै कालोमोसो दलेर दुर्व्यवहार गरिएको हाे । 

 

गाउँपालिका कार्यालयबाट बैठक सकेर बाहिर निस्कँदै गर्दा विप्लव कार्यकर्ताहरुले एक छिन तपाईसँग काम छ भन्दै बोलाएर अलि पर लगेको र भ्रष्टाचारी अध्यक्ष भन्दै कालोमोसो दलेको प्रत्यक्षदर्शीले बताए। 

 

कालोमोसो दलिसकेपछि कार्यालय परिसरमा रहेका शिक्षक वडा अध्यक्ष लगायत अन्य सेवाग्राहीहरु र विप्लवका कार्यकर्ता केहीबेर झडप भएको गाउँपालिका उपाध्यक्ष भगवती बोहराले जानकारी दिइन्।

 

८/१० जनाको समूहमा रहेका विप्लवका कार्यकर्ताले अध्यक्षलाई झुक्याएर कालोमोसो दलेको बोहराको भनाइ छ। विप्लवका कार्यकर्ताहरुले अध्यक्ष कठायतले योजनाको रकमबाट कमिसन खाने गरेको, आफन्त र कार्यकर्तालाई योजना दिएको र विभिन्न कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लगाउदै जनकारबाही गरिएको बताएका छन। 


उनलाई कार्यालय समयमै मदिरा सेवन गरि हो–हल्ला गरेको आरोप समेत लगाइको छ । पटकपटक सुझाव दिदा पनि सुधार नभएकाले चेतावनी स्वरुप कालोमोसो दलेको विप्लवका कार्यकर्ताहरुले सामाजिक संजाल मार्फत जानकारी दिए।

 

यता गाँउपालिका अध्यक्ष कर्ण कठायतले आफ्नो अपमान र मानवअधिकार हनन् भएको भन्दै यसको जिम्मेवारी सरकारले लिनु पर्ने बताएका । आफूलाई कालोमोसो दल्नुका साथै ज्यान मार्ने धम्की पनि आएको बताउँदै अध्यक्ष कठायतले भने, ‘धेरै पहिलादेखि चन्दा मागिरहेका थिए। मैले दिन मानिन। चन्दा नदिए जे पनि हुन सक्छ भन्ने धम्की पनि दिइरहेका थिए।’

 

जनता र जनप्रतिनिधीलाई धम्काएर चरित्र हत्या गरेर विप्लवका कार्यकर्ताहरुले चन्दा उठाइरहेको बताउदै उनले अपराध गर्नेलाई सरकारले कडा कारबाही गर्नु पर्ने बताए।गाउँपालिका अध्यक्ष माथि दुर्व्यवहार गरिएको खबर प्राप्त हुने वित्तिकै मष्टातिर प्रहरी परिचालन गरि विप्लवका कार्यकर्ताहरुको खोजी सुरु गरिएको गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

केही दिन यता विप्लवका कार्यकर्ताले सरकारी कर्मचारी र जनप्रतिनधिहरुलाई दुर्व्यवहार गर्न थालेका छन्। बुधबार मात्रै साइपाल गाउँपालिकाका नायब सुब्बा राधाकृण्ण जोशीलाई गाउँसभा गर्न जाने क्रममा बाटोमा कालोमोसो दलिएको थियो।
 

बझाङ विप्लव मष्टा गाउँपालिका अध्यक्ष कर्ण बहादुर कठायत कालोमोसो दले

विशेष