News मुख्य समाचार

जुम्लाकाे कभर्डहलबाट ७ बुँदे मागसहित डा. केसीको थाले आमरण अनसन

जुम्लाकाे कभर्डहलबाट ७ बुँदे मागसहित डा. केसीको थाले आमरण अनसन

 जुम्ला । नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रहरी धरपकडका बिच जु्म्लामा आमरण अनसन सुरु गरेका छन् । शनिबार दिउँसो प्रतिष्ठान परिसरमा अनशन बस्ने तयारी गरिरहेका बेला डा. केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 

करिव चार घण्टापछि  कवर्ड हलमा लगेर डा. केसीलाई छोडिएको थियो। डा. केसीले प्रहरी कार्यालयबाटै आफूले आमरण अनसन सुरु गरिसकेकाले उक्त ठाउँमा त्यसैलाई निरन्तरता दिने बताए । 

 

उनलाई कवर्ड हलमा सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् । यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशन सुरु गर्ने घोषणा गरे पनि जिल्ला प्रशासन कार्यालयले प्रतिष्ठानलाई प्रतिबन्धित क्षेत्र घोषणा गरेर केसीलाई प्रवेश गर्न दिएको थिएन ।


डा. केसीले चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्नेलगायतका ७ बुँदे माग राख्दै कवर्ड हलमा आमरण अनसन सुरु गरेका हुन् ।

 

यस्ता छन् मागहरु

१) चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक बाँकी  बुँदाहरुमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गरियोस् ।

 

तत्पश्चात् अविलम्ब चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालनलगनयत कामहरु सुचारु गरियोस् । 

 

२) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस लगायत स्नातक तहका विद्यार्थी भर्ना गर्ने गरी पूर्वाधार र जनशक्ति कायम गरियोस् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गरियोस् । 


३) माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गरियोस् । 

 

४) चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गरियोस् । त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस् । 

 

५) विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गरियोस् । 

 

६) कथित छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृत्तिपछि २ वर्ष अनिवार्य सेवाको व्यवस्था गरियोस् । आगामी शैक्षिक सत्रदेखि सबै निजी संस्थाहरुमा समेत चिकित्साको स्नातकोत्तर तह निःशुल्क गरियोस् । 

 

७) पठनपाठन ठप्प भइसकेको जानकी मेडिकल कलेजका विद्यार्थीहरुलाई उचित व्यवस्थापन गर्दै विद्यार्थीहरुलाई अलपत्र पार्नमा जिम्मेवार व्यक्तिहरुलाई तत्काल कारवाही गरियोस् । तथा प्रदेश २ मा सरकारी मेडिकल कलेज खोल्ने काम तत्काल शुरु गरियोस् । 

डा. गोविन्द केसी आमरण अनसन  जुम्ला

विशेष