इपिजीले तयार पार्यो साझा प्रतिवेदन, दुवै प्रधानमन्त्रीलाई चाँडै बुझाइने
काठमाडौं । सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिसहितका असमान सन्धि सम्झौता पुनरावलोकन तथा दुईपक्षीय विवादित विषयको अध्ययन गरी सुझाव दिन गठन भएको प्रबुद्ध समूहले अन्तिम प्रतिवेदन तयार पारेको छ ।
शुक्रबारदेखि काठमाडौं सुरु भएको अन्तिम तथा नवौं बैठकले उद्देश्यअनुसार साझा प्रतिवेदन तयार पारेको हो। बैठकले कम्तिमा १ महिनाभित्र दुवै देशका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने निर्णय पनि गरेको छ ।
बैठकपछि जारी विज्ञप्तीमा प्रतिवेदन तयार भएको र सक्दो छिटो दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने जनाइएको छ । भारतका तर्फबाट प्रबृद्ध समूह सदस्य महेन्द्र पी लामाले दुई देशबीचका असमान सन्धि सम्झौताको पुनरावलोकनको सुझावसहितको प्रतिवेदनलाई अन्तिम रुप दिने काम भएको जानकारी दिए ।
सन् १९५० को सन्धिलाई दुवै देशको तर्फबाट गम्भीर रुपमा अध्ययन विश्लेषण गरी वास्तवकितामा आधारित भएर प्रतिवेदन तयार पारिएको उनले बताए ।
उनले दुई वटा राष्ट्रका प्रधानमन्त्रीले दिएका कार्यविधिलाई नै आधार बनाउदै सोही मान्यता अनुसार छलफल अघि बढाइएको र वास्तविकतामा आधारित भएर प्रतिवेदन तयार भएकाले प्रतिवेदमा समावेश सुझाव दुवै सरकारलाई कार्यान्वय गर्न सहज हुने बताए ।
उनले प्रतिवेदनलाई दुवै मुलुकका प्रधानमन्त्रीले कार्यान्वयन गर्ने विश्वास समेत व्यक्त गरे । २ वर्ष अघि तात्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा दुई वर्षको कार्यवधिसहित गठन गरिएको इपीजीको समय असार २० गते सकिँदै छ ।
समूहमा नेपालका तर्फबाट संयोजक डा भेषबहादुर थापा, पूर्वमन्त्री नीलाम्बर आचार्य, पूर्वसचिव सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई छन् । त्यस्तै भारतीय समूहका संयोजक एवं भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती छन् ।