पत्तै पाएन कोरियामा गणतन्त्र दिवस
अर्जुन बराल

सोल । दक्षिण कोरियास्थित नेपाली दूतावासले गणतन्त्र दिवस पनि व्यक्तिको जन्मदिन जस्तैगरी मनाएको नेपाली कामदारहरूले गुनासो गरेका छन् ।
दूतावासले ११ आँै गणतन्त्र दिवस मे २९ तारिखका दिन सीमित व्यक्तिको उपस्थितिमा दूतावासको बन्द कोठाभित्र बिनाकार्यक्रम भव्यरूपमा मनाएको भन्दै गलत सन्देश प्रवाह गरेको नेपाली कामदारीहरूले आरोप लगाएका हुन् ।
हाल दक्षिण कोरियामा चालीस हजारभन्दा बढी नेपाली कामदार रहेको जानकारहरू बताउँछन् । यसपटकको गणतन्त्र दिवस दूतावासले सुटुक्क मनाएको शैलीको कोरियामा रहेका नेपाली संघसंस्थाका प्रतिनिधि र सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो ।
दूतावासले आफ्नो कमजोरीलाई सुधार्नुको सट्टा दबंग शैलीमा दलगत र गुटगत स्वार्थका आधारमा दूतावास जस्तो संस्थालाई आक्षेप नलगाउन र न्यून उपस्थिति हुनुमा दूतावासका अधिकारीहरूको गल्ती नभएको भन्दै बचाऊ गरेको थियो ।
नेपाली कांग्रेसको कोटाबाट राजदूत नियुक्त भएका अर्जुनजंगबहादुर सिंहका आसेपासे खास व्यक्ति र सीमित संघसंस्थाका प्रतिनिधिहरूलाई मात्र समारोहमा आमन्त्रण गरिएको नेपाली कामदारहरूको आरोप रहेको छ ।
कार्यक्रममा एनआरएन, एनसिसी, जनसम्पर्क समितिका निर्वतमान अध्यक्षलगायत दूतावासका केही कर्मचारीसहित १४ जनाको उपस्थिति रहेको समाचार स्रोतको दाबी छ । गणतन्त्र दिवस भव्यरूपमा मनाएको समाचार प्रचारप्रसार गरिदिन राजदूत सिंहले पत्रकारलाई विशेष अनुरोध गरेका थिए ।
दक्षिण कोरिया गणतन्त्र दिवस अर्जुनजंगबहादुर सिंह