अर्थमन्त्री खतिवडाकाे जवाफः बजेट समाजवाद उन्मुख छ
'५ सय मिटरमै म्याराथन हारजितको निर्क्योल नगरौं की !'
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट समृद्धिमार्फत् समाजवाद निर्माण गर्ने दिशामा उन्मुख रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले बजेट दिशाहिन नरहेको दाबी गरेका हुन् ।
अर्थमन्त्री खतिवडाले नागरिकको न्यूनतम आवश्यक्ता पूरा गर्दै बजेटले काम र रोजगारीलाई उच्च प्राथमिकता दिएको बताए । उनले बजेट संघीयता विरोधी नरहेको बताए । संघीयता अन्तरगत प्रदेश र स्थानीय तहको क्षमता अनुसार बजेट वियोजन गरिएको उनको भनाइ छ ।
प्रदेश र स्थानीय तहमा संस्थागत संरचना नबनेकाले धेरै बजेट छुटयाउने गल्ती नगरिएको मन्त्री खतिवडाको स्पष्टिकरण छ । अर्थमन्त्री खतिवडाले आफूले सांसदहरुलाई अपमानित गर्ने कुनै नियत नराखेको पनि स्पष्ट पारे ।
मन्त्री खतिवडाले बजेट कार्यान्वयमा ध्यान दिन सांसदहरुको गम्भीर ध्यानाकर्षण गराए । उनले सामाजिक सुरक्षाको कार्यक्रमलाई अघि बढाउने दृढता पनि व्यक्त गरे । उनले सरकारले अर्थतन्त्रलाई अघि बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढने पनि स्पष्ट पारे ।
अर्थमन्त्री खतिवडाले बजेट प्रगतिशील कर प्रणालीमा आधारित रहेको दाबी गरे । उनले लगानी बढाउनका लागि सरकारले सार्वजनिक निजी आर्थिक ऐन ल्याउने योजना पनि बजेटमा व्यवस्था गरिएको पनि बताए ।
अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री कार्यालयमा बजेट केन्द्रित भएको भन्ने भनाइमा सत्यता नरहेको दाबी गरे । ८ प्रतिशतको आर्थिक वृद्धिदर गराउन आफू सफल हुने उनको भनाइ थियो ।
अर्थमन्त्री खतिवडाले वित्त आयोगका सचिवालयको सुत्र अनुसार बजेट विनियोजन गरिएकाले यसमा विभेद भएको भन्न नमिल्ने बताए । उनले भने ‘नीति तथा कार्यक्रम कार्यान्वयन गर्न केही कुरा छुटे भन्नु ५०० मिटरमै जित हारको निर्क्योल गर्न खोज्नु हो । हेर्दै जाउँ हामी म्याराथन जित्छौं ।'
बजेट अर्थमन्त्री डा. युवराज खतिवडा