सरकारकाे नारा वायुपंखी घोडा भए पनि पारा बयलगाडा देखियाेः प्रवक्ता शर्मा

रुकुम । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकार संघीयताप्रति गम्भीर नभएको बताएका छन् । पूर्वी रुकुमको सदरमुकाम सिस्ने गाउँपालिका ३ पोखरामा सोमबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीकै पार्टीका मन्त्रीहरुले यो कुराको पुष्टि गरेको बताएका हुन् ।
सरकारले प्रस्तुत गरेको बजेट र निर्णयमा केन्द्रीयता लादिएको भन्दै मुख्यमन्त्रीहरुले अभिव्यक्ति दिइरहेको उनको भनाइ थियो । ‘संघीयता शक्तिको अधिकतम विन्यास हो’, उनले भने, ‘तर, प्रधानमन्त्रीकै पार्टीका मन्त्रीहरु अहिलेको बजेट र सरकारका निर्णयमा केन्द्रीयता लादिएको अभिव्यक्ति दिइरहेका छन् ।’
सरकारले नारा वायुपंखी घोडाको दिने तर कामको पारा भने बयलगाडाको रहेको टिप्पणी गर्दै प्रवक्ता शर्माले सरकारलाई कांग्रेसले रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भूमिकामा सहयोग गरिरहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको भूमिकालाई कमजोर देख्ने र बहुमतको दम्भले जे गरे पनि जे बोले पनि हुने मनःस्थिति पालिरहेमा कांग्रेस कडारुपमा प्रस्तुत हुनेसमेत उनले चेतावनी दिए ।
फरक प्रसंगमा प्रवक्ता शर्माले नेपालका सबै कम्युनिष्ट पार्टीलाई संसदीय प्रक्रियाको बाटोमा आउन आग्रह गरे । उनले पाटीभित्र संरचनाहरुको पूर्णता नहुनु, नाकाबन्दीताका खुलेर बोल्न नसक्नु पनि कांग्रेस हारको कारण रहेको चर्चा गरे ।
विश्वप्रकाश शर्मा सरकार