कक्षा ११ मा नयाँ पाठ्यक्रम, ४५ मिनेटको पिरियडलाई अब १ घण्टा दिनुपर्ने
काठमाडौँ । राष्ट्रिय पाठ्यक्रम प्रारूप पारित भएसँगै कक्षा ११ मा यसै वर्षदेखि नयाँ पाठ्यक्रम र पाठ्यपुस्तकका आधारमा पढाइ हुने भएको छ । यसपालि एसईई परीक्षा उत्तीर्ण हुने विद्यार्थीलाई नयाँ पाठ्यक्रमका आधारमा पढाइने पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले बताए ।
उनका अनुसार राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले प्रारूप स्वीकृत गरिसकेकाले कक्षा ११ बाट कार्यान्वयनमा ल्याउन लागिएको हो ।
आगामी शैक्षिकसत्रमा कक्षा १ देखि ३ मा क्रमश: स्वीकृत एकीकृत पाठ्यक्रमका आधारमा पठनपाठन हुनेछ । ‘कक्षा ११ मा यही वर्षदेखि नयाँ पाठ्यक्रम लागू हुन्छ, कक्षा १ देखि ३ मा आगामी शैक्षिक सत्रदेखि र अन्य कक्षामा क्रमश: लागू गर्दै जान्छौं,’ उनले भने ।
विकास केन्द्रले कक्षा ११ र १२ मा एकल पथीय पाठ्यक्रम लागू गरेको हो । अहिले रहेको संकाय प्रणालीको अन्त्यसँगै कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा गरी चार विषय अनिवार्य पढ्नुपर्ने व्यवस्था गरिएको छ । तीनवटा विषय भने ऐच्छिक हुनेछन् ।
‘उच्च शिक्षा जुनसुकै विषयमा पढ्न सक्ने गरी ११ र १२ को पाठ्यक्रम बनाएका छौं,’ उनले भने, ‘संविधान, शिक्षा ऐन र नियमावलीअनुरूप पाठ्यक्रम तयार भएको छ ।’ कक्षा ११ मा अब ५ सयको साटो ७ सय पूर्णांकको पठनपाठन हुनेछ ।
विद्यार्थीले चारवटा ऐच्छिक विषयमध्ये ३ वटा छनोट गर्न सक्नेछन् । स्थानीय तहको समन्वयमा विद्यालयले विद्यार्थीको रुचि, आवश्यकता, शिक्षकको उपलब्धता र स्रोत–साधन ख्याल गरेर ऐच्छिक विषय छनोट गर्न सक्ने केन्द्रले जनाएको छ ।
विद्यार्थीले ऐच्छिक विषय साधारण धार, विज्ञान तथा प्रविधि र प्राविधिक तथा व्यावसायिक धारबाट छनोट गर्न सक्नेछन् । ऐच्छिक विषयलाई प्रथम, द्वितीय र तृतीय नाम दिइएको छ । विद्यार्थीले ऐच्छिक प्रथम विषय जुन धारबाट छनोट गरेका छन्, द्वितीय र तृतीय पनि सोही धारबाट छान्न पाउनेछन् ।
कक्षा ११ मा जुन समूहबाट ऐच्छिक विषय छनोट गरिएको छ, १२ मा पनि सोही समूह वा धारबाट विषय छान्नुपर्ने छ । काप्रीले भने, ‘बालबालिकाले पढाइ सक्दा रोजगार हुन सक्ने र कुनै न कुनै सीप सिक्न सक्ने ग्यारेन्टी पाठ्यक्रमले गरेको छ ।’
ऐच्छिक विषयमध्ये एक विषय स्थानीय परिवेशमा आधारित हुनेछ । स्थानीय तहले उक्त विषय छनोट र पाठ्यक्रम निर्माण गर्नेछ । प्रदेश र स्थानीय तहले राष्ट्रिय पाठ्यक्रम पारुपका आधारमा पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरी पठनपाठन गराउन सक्ने काप्रीले जनाए ।
कक्षा ४ देखि १२ सम्म १०२४ कार्य घण्टाको पठनपाठन गर्नुपर्ने व्यवस्था गरिएको छ । ४० र ४५ मिनेटको पिरियडलाई पाठ्यक्रमबाटै एक घण्टाको कायम गरिएको हो । कान्तिपुरबाट ।