News देश

विद्यार्थी दिनहुँ बिरामी

विद्यार्थी दिनहुँ बिरामी

रुकुम (पश्चिम) । बाँफिकोट गाउँपालिका–१, लागिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी सातादेखि विरामी पर्न थालेका छन् । दैनिकजसो विद्यार्थी विरामी हुन थालेपछि अभिभावक चिन्तामा छन् । जेठ १३ गतेदेखि हरेक दिनजसो  विरामी विद्यार्थी पर्न थालेका हुन् । 

 

विशेष गरी छात्रा बढी ग्रस्त छन् । विद्यार्थीमा आँखा रातो हुने, मुटु दुख्ने, भुइँमा लड्ने, मुर्छा पर्ने, हातखुट्टा बाङ्गिने समस्या देखिएको प्रधानाध्यापक गोविन्द मल्लले बताए । उनले पछिल्लो पटक आइतबार छाती, टाउको र पेट दुख्ने समस्या पनि विद्यार्थीमा देखिएको जनाए ।

 

विद्यार्थी विरामी भइरहेपछि गत बुधबारदेखि शनिबारसम्म विद्यालय बन्द गरिएको थियो । आइतबार विद्यालय खोलिएपनि विद्यार्थी उक्त समस्याबाट मुक्त हुन सकेनन् । आइतबार १२ जना विद्यार्थीमा उक्त समस्या देखिएको प्रअ मल्ले बताए ।

 

विद्यार्थीमा समस्या देखिएदेखि नै उपचार पनि भैरहेको छ । स्वास्थ्य चौकी पीपलका स्वास्थ्यकर्मी विद्यालयमै पुगेर उपचार गरिरहेका छन् । उपचार गर्दा ठिक भएको जस्तो हुने र भोलीपल्ट फेरि उस्तै समस्याका अरु विरामी फेला परिरहेको स्थानीय पवनकुमार चन्दले बताए ।

 

‘हामीहरू समस्यामा छौं, दिनका दिन विद्यार्थीहरू अनौठो लक्षण देखिएर भुइँमै सुत्ने गरेका छन्,’ उनले भने, ‘पूराना निको भएपछि नयाँ विद्यार्थीमा उस्तै लक्षण देखिएका छन् ।’ केही विद्यार्थीमा दोहोरीएर उस्तै लक्षण देखिएको स्वास्थ्य चौकी पीपलका इन्चार्ज स्वास्थ्य सहायक सन्देश चन्दले बताए । कान्तिपुर दैनिकबाट ।

रुकुम विद्यार्थी

विशेष