News अर्थ पर्यटन

भोलीदेखि हवाई भाडा बढ्ने, कुन ठाउँ जान कति?

भोलीदेखि हवाई भाडा बढ्ने, कुन ठाउँ जान कति?

काठमाडौं । वायुसेवा सञ्चालक संघले मंगलबार (भोली) देखि आन्तरिक उडान तर्फको भाडा बढाउने तयारी गरिरहेको छ । हवाई इन्धनको मुल्य बढेसँगै संघले उडान तर्फको  भाडा पनि बढाउने निर्णय गरेको हो । 

 

यसअघि सरकारले आन्तरिकतर्फ हवाई इन्धनको भाडा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । योसँगै इन्धन शुल्क बापतको खर्च बढेको भन्दै संघले भाडा बढाउन लागेको संघका कार्यकारी निर्देशक कमलेश बर्माले बताए ।

 

उनका अनुसार यो भाडा नागरिक उड्ययन प्राधिकरणले स्वीकृति दिएपछि मात्रै मंगलबारदेखि लागू हुने भएको छ । प्राधिकरणसँग स्वीकृतिका लागि अन्तिम छलफल भैरहेको संघले बताएको छ । 

 

हवाई इन्धनको मूल्य बढेपछि इन्धन खर्च पनि बढेको भन्दै बर्माले यसैले पनि हवाई भाडा बढाउन बाध्य हुनु परेको हो ।  उनका अनुसार यात्रु सेवा शुल्क भने पुरानै कायम रहनेछ । 

 

उनले दिएको जानकारी अनुसार काठमाडौं धनगढीको भाडा अब १२ हजार ८ सय ७० हुने भएको छ । यसअघि यो रुटको भाडा १२ हजार ६ सय ५० रुपैयाँ रहेको थियो ।

 

यो रुटमा थप २ सय २० रुपैयाँको इन्धन शुल्क बढेको संघले बताएको छ । त्यसैगरी माउन्टेन फ्लाइटको भाडा १ सय ७० रुपैयाँ बढ्ने भएको छ । यसअघि ११ हजार ३ सय मा रहेकोमा माउन्टेन फ्लाइटको भाडा अब ११ हजार ४ सय ७० कायम हुने भएको छ ।

 

नेपालगंज काठमाडौंको भाडा १ सय ६५ रुपैयाँ बढ्ने भएको छ । पोखराको भाडामा ८० रुपैयाँ थप इन्धन शुल्क लाग्नेछ भने भैरहवासम्मको भाडामा १ सय रुपैयाँ वृद्धि हुने कार्यकारी निर्देशक बर्माले जानकारी दिए । यसले सेवाग्राहीमाथि भने केही आर्थिक भार थपिने निश्चित छ । 


 

हवाई भाडा इन्धनको मूल्य वृद्धि

विशेष