अब कम्युनिष्टकाे विकल्प कांग्रेस हाेइन, फाेरम हुन्छः उपेन्द्र यादव
काठमाडौं । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अब कम्युनिष्ट पार्टीको विकल्प नेपाली कांग्रेसको हुनै नसक्ने दाबी गरेका छन् ।
मंगलबार पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा संघीय समाजवादी फोरम अध्यक्ष समेत रहेका यादवले कांग्रेसले अब कम्युनिस्ट पार्टीको विकल्प धान्न नसक्ने बताएका हुन् ।
‘कांग्रेस अब कम्युनिष्टको विकल्प हुन सक्दैन भन्ने धारणामा धेरै मान्छे पुगिसके’ यादवले भने, ‘अब विकल्पको रुपमा फोरम हुन्छ भन्ने कुरा स्थापित हुँदै गएको छ । त्यसैले हाम्रो लागि पार्टी निर्माण गर्ने अत्यन्त राम्रो अवसर प्राप्त भएको छ ।’
यादवले आफूसँग तत्कालिन एमाले र त्यो भन्दा अघि पुष्पलाल समूहमा काम गरेकाहरु पनि सम्पर्कमा आएको र पार्टीमा धेरै मान्छेले प्रवेश गर्न खोजिरहेको दाबी गरे । उनले पार्टी बलियो बनाउँदै कम्युनिष्ट पार्टीको विकल्पमा रुपमा स्थापित हुने बताए ।
यादवले भने, ‘करिब दुईतिहाई नजिकको कम्युनिष्ट पार्टीलाई संघीय समाजवादी नभई हुँदैन भन्ने महसुस हुनु नै हाम्रो शक्ति हो । हामी संविधानको प्रक्रियाबाट परिवर्तनलाई संस्थागत गर्ने दिशामा जान्छौं । अरुले पनि हामाीबाट सिक्नुपर्छ ।’
यादवले संविधान संशोधन गराउने सर्तमै आफू सरकारमा सामेल भएको दाबी गरेका छन् । परिर्वतलाई संस्थागत गर्न सरकारमा जानु आवश्यक रहेको उनको तर्क थियो ।
उपेन्द्र यादव नेपाली काँग्रेस स्वस्थ्यमन्त्री