News अर्थ

६६ अर्बको निर्यात हुँदा, ब्यापार घाटा ९ खर्ब 

६६ अर्बको निर्यात हुँदा, ब्यापार घाटा ९ खर्ब 


काठमाडौं । सरकारले स्वदेशी उत्पादन वृद्धि गर्ने बताईरहेको बेला पछिल्ला दश महिनामा नेपालको व्यापार घाटा ९ खर्ब १५ अर्ब पुगेको पाइएको छ ।गएको बैशाखसम्मको अवस्थालाई हेर्दा विभिन्न मुलुकबाट नेपालमा ९ खर्ब ८२ अर्ब रुपैयाँ बराबरका वस्तुहरु आर्यात भएको अर्थ मन्त्रालयको तथ्याकंले देखाएको छ । 

 

उक्त तथ्याकं अनुसार निर्यात ६६ अर्ब ६४ करोड रुपैयाँको मात्रै भएको छ । आयात र निर्यातलाई तुलना गर्दा व्यापार घाटा ९ खर्ब १५ अर्ब पुगेको अर्थ मन्त्रालयका सूचना अधिकारी भक्कप्रसाद आचार्यले जानकारी दिए । 

 

गएको आर्थिक वर्षको सोही अबधिमा उक्त व्यापार घाटा ७ खर्ब ४६ अर्ब रुपैयाँ रहेको उनले बताए । गएको आर्थिक वर्ष २०७३/७४ को दश महिनाको अबधिमा मुलुक बाहिरबाट आर्यात ८ खर्ब हुदा निर्यात ६० अर्ब रुपैयाँको भएको थियो । त्यसको तुलनामा यो आर्थिक वर्ष व्यापार घाटा गएको वर्षभन्दा २२ दशमलव ७२ प्रतिशत बढेको मन्त्रालयको रेकर्डले उल्लेख गरेको छ ।

 

भारतसँग नेपालको व्यापार घाटा ६ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । भारतबाट नेपालमा ६ खर्ब ४९ अर्ब रुपैयाँको आयत हुदा निर्यात ३८ अर्ब रुपैयाँको मात्रै भएको उनले बताए । चीनसँग १ खर्ब २४ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । गएको दश महिनामा नेपालबाट चीनमा १ खर्ब २७ अर्ब रुपैयाँको विभिन्न वस्तुहरु आयात भएकोमा निर्यात २ अर्ब ६६ करोड रुपैयाँको मात्र गर्न सकिएको विभागले जानकारी दिएको छ ।

 

विभागको तथ्याङकअनुसार कुल आयातको ६६ दशमलव १ प्रतिशत वस्तु भारतबाट आयात गरिएको छ । निर्यात पनि भारतसँगै करीब ५८ प्रतिशत भएको छ ।विभागका अनुसार आयातको १३ प्रतिशत चीनबाट आयात भएपनि कुल निर्यातको ११ प्रतिशत यूएसएमा नेपालबाट निर्यात गरिदै आइएको छ । 

 

विभागको अनुसार गएको दश महिनामा मुलुकमा कुल १० खर्ब ४९ अर्ब रुपैयाँको व्यापार भएको छ । त्यसमा आयातको हिस्सा ९४ प्रतिशत छ ।  निर्यातको हिस्सा ६ प्रतिशत रहेको विभागले जनाएको छ । 
 

व्यापार घाटा निर्यात

विशेष