News मुख्य समाचार प्रदेश १

पाँच वर्षसम्म काम नगर्ने ठेकेदार पक्राउ

‘अब समय र माफी दिने हैन, सिधै एक्शनमा उत्रने हो’

पाँच वर्षसम्म काम नगर्ने ठेकेदार पक्राउ

ओखलढुंगा । ठेक्का लिएको पाँच वर्षमा १० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारमाथि स्थानीय प्रशासनले कारबाही थालेको छ । ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई पक्राउ गरेर कारबाही थालिएको हो । 

 

सोमबार साँझ मात्रै मोलुङ गाउँपालिका–१, र सुनकोशी गाउँपालिका–१०, जोड्ने मोलुङ खोलाको पक्की पुल निर्माणको ठेक्का पाएको राजेन्द्र लोकप्रिय जेभीका सब–कन्ट्रयाक्टर रवीन्द्र लामालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।

 

लामालाई प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको निर्देशनमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अनन्त शर्माले जानकारी दिए । पक्राउ परेका ठेकेदारलाई जिल्ला प्रशासन कार्यालयमा पेश गरिने शर्माले बताए । 

 

जिल्ला प्रशासनले ठेक्का लगाउने कार्यालयलाई समेत बोलाएर विद्यमान कानुनी व्यवस्था अनुसार कारबाही अघि बढाइने जनाइएको छ ।

 

८० मिटर लम्बाई, ५ मिटर चौडाइको त्यो पुल सुरुमा ३ करोड ३२ लाख ५५ हजार १ सय ६९ रुपैयाँको लागतमा सम्झौता भएको थियो ।


 पछि डिजाइन परिवर्तन पश्चात ५ करोड ६९ लाख २४ हजार ५ सय ९८ रुपैयाँ पुर्‍याइएको हो । तर, ठेकेदारले पुल निर्माणको काम अलपत्र छाडेको थियो ।

 

प्रमुख जिल्ला अधिकारी पन्तले सरकारको निर्देशन अनुसार ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई अब धमाधम पक्राउ गर्ने बताए । 

 

ओखलढुंगामा पाँच वर्षदेखि ठेक्का लिएका पुल, विद्यालय भवन, स्वास्थ्य चौकी, सडकलगायतका दर्जन हाराहारीका पूर्वाधारका काम ठेकेदारले अलपत्र छोडेका छन् ।

 

उनीहरुहरुलाई धमाधम प्रशासनमा झिकाई स्पष्टिकरण सोध्ने तथा कारबाही गर्न थालेपछि ठेकेदारहरुको भागाभाग सुरु भएको छ ।

 


जिल्लाभरको विवरण अध्ययन गर्दा पाँच जना बढी ठेकेदार कारबाहीको दायरामा ल्याउनुपर्ने देखिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउए ।

 

‘यति जना नै हो भनेर अहिले नै हामी भन्दैनौं तर, पक्राउ पछि धमाधम सार्वजनिक गर्नेछौ’, पन्तले भने, ‘अब समय र माफी दिने हैन, सिधै एक्शनमा उत्रने हो ।’
 

ओखलढुंगा ठेकेदार पक्राउ

विशेष