News

पूजा बोहोरा प्रकरण : रक्षा नेपालको ‘व्यवस्थापकीय कमजोरी’

प्रतिवेदन बुझाउने तयारी मन्त्रालयमा

पूजा बोहोरा प्रकरण :  रक्षा नेपालको ‘व्यवस्थापकीय कमजोरी’

 
काठमाडौं ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा गठित छानविन समिति रक्षा नेपालको आश्रयमा व्यवस्थापकीय कमजोरी रहेको निष्कर्षमा पुगेको छ ।रक्षा नेपालको संरक्षणमा बस्दै आएकी पूजा बोहोराले आफूमाथि अन्याय गरेको बताएपछि मन्त्रालयले गठन गरेको छानविन समितिले रक्षाको व्यवस्थापकीय कमजोरी रहेको पाएको हो । छानविन समितिमा रहेका एक सदस्यका अनुसार रक्षा नेपालले आफ्नो संरक्षणमा राखेका महिलालाई गर्ने व्यवहारमा कमजोरी रहेको पाइएको छ ।

 

‘सञ्चारमाध्यममा पूजाको विषयमा समाचार आएको भोलिपल्ट नै रक्षा नेपालको कार्यालयमै पुगेर घटनाको विषयमा छानविन गर्यौं । सम्बन्धित निकाय र पीडितलाई भेटेर नै कुरा गर्यौं,’ नाम उल्लेख नगर्ने शर्तमा ती सदस्यले भने, ‘रक्षा नेपालको केही कमजोरी रहेको भेटियो । रक्षा नेपालले संरक्षणमा रहेकालाई गर्ने व्यवहारमा सुधार गर्नुपर्ने देखियो ।’ 

 

प्रमुख महिला विकास अधिकृत अञ्जु ढुंगानाको संयोजकत्वमा गठित छानविन समितिले रक्षा नेपालकी सञ्चालिका मेनुका थापा र पीडित पूजा बोहोरालाई छुट्टाछुट्टै बोलाएर घटनाको विषयमा जानकारी लिएको थियो । छानविन टुंग्याएको समितिले आजै मन्त्रालयमा छानविन प्रतिवेदन बुझाउँदैछ ।

 

पूजाले छानविन समितिलाई आफूमाथि अन्याय भएको तथा सुरक्षा र शिक्षा दिन माग गरेको बताइएको छ । पूजाले आफूलाई होस्टलमा राखिदिएपनि होस्टलको खर्च नतिरिदिएको गुनासो गरेकी छन् । २०६८ सालमा सामुहिक बलात्कारमा परेकी पूजा ७ वर्षदेखि रक्षा नेपालको संरक्षणमा रहँदै आएकी छन् । उनी अहिले एलएलबी दोस्रो वर्षमा अध्ययन गर्दै आएकी छन् ।

 

पूजा बस्दै आएको होस्टेलको मासिक ७ हजार रुपैयाँ भाडा बुझाएको छानविन समितिलाई रक्षा नेपालले जानकारी गराएको छ । रक्षा नेपालले छानविन समितिलाई आफ्नो कमजोरीहरू सुधार गर्ने र पूजाको सम्पूर्ण पढाइ खर्च आफैंले व्यहोर्ने बताएको समिति सदस्यले बताए ।

 

रक्षा नेपालको संरक्षणमा बस्दै आएकी पूजा बोहोराले आफूलाई रक्षा नेपालले यातना दिने गरेको गुनासो सञ्चारमाध्यममा आएपछि महिला मन्त्रालयले छानविन शुरु गरेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको निर्देशनमा प्रमुख महिला विकास अधिकृत अञ्जु ढुंगानाको संयोजकत्वमा छानविन समिति गठन भएको थियो ।

 

समितिले पूजाले आफ्नो सुरक्षा र शिक्षाको माग गरेको तथा रक्षा नेपालले आफ्नो व्यवस्थापकीय कमजोरी सुधार गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने तयारी गरेको छ । 

पूजा बोहोरा प्रकरण

विशेष