News विदेश

गोर्खा सैनिकले दिनेछन् ट्रम्प र किमलाई सुरक्षा

गोर्खा सैनिकले दिनेछन् ट्रम्प र किमलाई सुरक्षा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने शिखर वार्तामा गोर्खा सैनिकले सुरक्षा दिने भएका छन् । दुई नेताबीच १२ जुनमा सिंगापुरमा हुने वार्तामा नेपालका गोर्खा सैनिकले सुरक्षा दिने भएका हुन् । ट्रम्प र किमबीच स्थानीय समयअनुसार बिहान ९ बजे भेटवार्ता हुँदै छ ।


‘गोरखा सैनिक सिंगापुरले उपलब्ध गराउन सक्ने सबैभन्दा उत्कृष्ट सुरक्षाकर्मी हुन् र उनीहरू सम्मेलनमा खटिनेमा म विश्वस्त छु,’ इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आइआइएसएस) सिंगापुर शाखाका सुरक्षा मामिलाविज्ञ टिम हक्सलीले भने ।


आइआइएसएसका अनुसार सिंगापुर प्रहरीका ६ वटा प्यारामिलिट्री कम्पनीमा १८ सय गोर्खाली सैनिक छन् । गोर्खाली सेना सिंगापुरबाहेक, ब्रिटिस, ब्रुनाई, भारतलगायतका देशमा खटिएका छन् । गोर्खा सैनिकलाई दुई सय वर्षदेखि विश्वका विभिन्न स्थानमा विशेष फौजका रूपमा भर्ती गरिएको छ ।


सिंगापुरका लागि गोर्खा ठूलो शक्ति साबित भएको हक्सली बताउँछन् । जातीय विविधतायुक्त सिंगापुरमा भिआइपीको सुरक्षा र दंगाका समयमा गोर्खा सैनिक तटस्थ शक्ति बनेका छन् । क्षेत्रीय तनावका समयमा पनि उनीहरूले अन्तर्राष्ट्रिय विद्यालयलाई सुरक्षा पहरा दिएका छन् ।


उनीहरू मलेसिया र सिंगापुरको सीमा क्षेत्रमा पनि तैनाथ छन् । सिंगापुर प्रहरीको वेबसाइटमा उल्लेख भएअनुसार गोर्खा सैनिक दृढ, चनाखो र प्रतिबद्ध छन्, जो ‘सिंगापुरको सुरक्षामा अर्धसैन्य अप्रेसनको विस्तारमा सहयोगी बनेका छन् ।


सिंगापुरका गोर्खाली सिपाही सहरबाहिर रहेको माउन्ट भर्नन क्याम्पमा परिवारसँगै बस्छन् । क्याम्पमा बस्ने एक गोर्खा सैनिककी पत्नीका अनुसार क्याम्पभित्रको जीवन प्रतिबन्धित छ । ‘मध्यरातपछि सधैँ कफ्र्यु लाग्छ । विशेष कारणवश रातको समयमा बाहिर जानुप-यो भने महिलालाई अनुमति हुन्छ, तर पुरुषलाई यस्तो छुट हुँदैन,’ उनी भन्छिन् ।


शिविरभित्रको जीवन कठोर अनुशासनमा बाँधिएको छ । समयमा नै सुत्नुपर्छ । ‘हरेक रात साढे १० बजे बेडमा पुगिसकेको हुनुपर्छ । सुत्ने समयमा संगीतलगायतका अन्य गतिविधि गर्न बर्जित छ । शिविरभित्र पार्टी चलेमा तोकिएको समयमै सम्पन्न गरिसक्नुपर्छ । तोकिएको समयभन्दा ढिलो भएमा गस्तीमा खटिएका व्यक्तिले बन्द गरिदिन्छन् ।


१८–१९ वर्षको उमेरमा नेपालमा छनोट भएपछि गोर्खा सैनिकको तालिम सिंगापुरमा सुरु हुन्छ । ४५ वर्षको उमेरमा उनीहरूले अनिवार्य अवकाश पाउँछन् । गोरखा सैनिकका बालबच्चा स्थानीय विद्यालयमा पढ्छन् । गोरखा सैनिकलाई सिंगापुरे महिलासँग विवाह गर्न निषेध छ ।

डोनाल्ड ट्रम्प किम जोङ उन

विशेष