विश्व विख्यात फेसन डिजाइनर केट स्पेडले गरिन् आत्महत्या !
काठमाडौं । अमेरिकाको न्युर्योकस्थित आफ्नै अपार्टमेन्टमा विश्वविख्यात फेसन डिजाइनर केट स्पेड मृत भेटिएकी छन् । स्पेडले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको र यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
स्पेडले नोट पनि लेखेर छोडेको प्रहरीले बताएको छ । तर, त्यो नोटमा के लेखिएको छ भन्ने केही खुलाइएको छैन । स्पेडको परिवारले एक वक्तव्य निकालेर आफूहरुको गोपनियताको सम्मान गर्न आग्रह गरेको छ ।
लुगा, जुत्ता तथा गहनाको डिजाइनरको रुपमा सुपरिचित स्पेडलाई विश्वभरका फेसन तथा डिजाइन क्षेत्रका व्यक्तिले ट्रिब्युट दिएका छन् । यस्तै उनी आफ्नो एसेसोरी लाइनका लागि पनि चर्चित थिइन् । उनले सन् १९९३ मा श्रीमान एण्डी स्पेडसँग मिलेर केट स्पेड ह्याण्डब्याग कम्पनी खोलेकी थिइन् ।
म्यानहटनमा रहेको पार्क एभिन्यु अपार्टमेन्टमा केटलाई उनकी हाउसकिपरले अचेत अवस्थामा फेला पारेको सरकारी अधिकारीले बताएका छन् । न्युयोर्कको प्रहरी विभागले ५५ वर्षकी स्पेडको निधन भएको पुष्टि गरेको छ ।
केट स्पेड ह्याण्डब्याग उनले सन् १९९३ मा खोले पनि त्यसको तीन वर्षपछि मात्रै उनले न्युयोर्कमा पहिलो स्टोर खोलेकी थिइन् । अहिले विश्वभर ३०० भन्दा बढी शाखा रहेका छन् ।
फेसन डिजाइनर केट स्पेड