News स्वास्थ्य

भक्तपुर अस्पतालमा हाई केयर युनिट संचालन तयारी

भक्तपुर अस्पतालमा हाई केयर युनिट संचालन तयारी

भक्तपुर । भक्तपुर अस्पतालमा हाई केयर युनिट (एचसीयु) संचालनमा आउने भएको छ। अस्पतालमा आइसियु संचालन गर्ने कि एचसीयु भन्ने लामो मन्थनपछि अन्ततः आगामी असार १७ गतेदेखि एचसीयु संचालनमा ल्याउन लागेको हो। अस्पतालको वार्षिकोत्सवको अवसर पारेर एचसीयु संचालन गर्ने तयारी थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुधा देवकोटाले जानकारी दिइन्।

 

यसअघि अस्पतालले आइसीयु संचालन गर्ने भन्दै तीन वर्षअघि नै करिव डेढ करोड रुपैयाँको सामग्री खरिद गरेको थियो। अस्पताल विकास समितिमा नवराज गेलाल अध्यक्ष हुँदा आइसीयु संचालन गर्न एक करोड ७५ लाख रुपैयाँ बराबरका सामग्री खरिद गरेको थियो। हाल उनी जिल्ला समन्वय समितिका अध्यक्ष छन्। गेलाल अस्पतालमा जसरी भए पनि आइसियु नै संचालन हुनुपर्ने अडानमा छन् भने अस्पताल प्रशासन आइसियु संचालन गर्न मापदण्डअनुसारको भौतिक र मानव स्रोत साधन नभएको भन्दै तत्काल एचसियु संचालन गरेर सेवा विस्तार गर्दै लैजानुपर्ने पक्षमा छ।

 

आइसियु संचालनका लागि अन्य भौतिक पूर्वाधार व्यवस्था गर्दागर्दै गेलालको पदावधि सकियो। त्यसबेलादेखि ती सबै सामग्री अस्पतालको स्टोरमा थन्किएका थिए। आइसियु संचालन गर्न वातानुकूलित मेसिन दुई थान, पोर्टेवल एक्स रे मेसिन एक थान, आइसियु भेन्टिलेटर एक थान, आइसियु वेड तीन थान, सक्सन मेसिन पाँच थान, इसिजी मेसिन तीन थान, रेफ्रिजिरेटर, स्टिल लकर एक थान, स्टिल दराज दुई थान, वेड साइड स्क्रिन सात थान, मेडिसिन ट्रली दुई थान, स्टिल टुल्स तीन थान, प्रिन्टर, कम्प्युटर, ग्लुकोमिटर तीन थान, तौल मेसिन पाँच थान, वेड प्यान १० थान, प्लस अक्सिमिटर पाँच थान, अक्सिजन कन्सल्टेटर दुई थान, इमर्जेन्सी ट्रली दुई थान, सिरिन्ज इन्फ्युज पम्प पाँच थानलगायत ३५ थरी सामग्री खरिद गरेको थियो। ती सामग्री अहिले काम नलाग्ने अवस्थामा पुग्न लागेका छन्।

 

अहिले ती सामग्री प्रयोग गरेर अस्पतालले एचसियुको नाममा नयाँ युनिट संचालन गर्न लागेको मेसु देवकोटाले जानकारी दिए। अस्पताल विकास समितिका अध्यक्ष प्रेमबहादुर खड्काले अस्पतालको वार्षिकोत्सवको अवसरमा एचसियु संचालन गर्न आवश्यक तयारी भइरहेको बताए। त्यसका लागि अस्पताल आवश्यक पूर्वाधारको तयारीमा जुटिरहेको जानकारी दिँदै उनले भने, आइसियु संचालन गर्न ल्याइएको मेसिनबाटै उपचार सेवा सुरु गर्न ती मेसिनहरूको परिक्षण गराउने कार्य भइरहेको छ। वायोमेडिकल इञ्जिनियरहरूलाई लिष्ट दिएर अध्ययन गराइरहेका छौँ।

 

ती मेसिन र औजारहरूमध्ये कति बिग्रेका छन्, कति खिया लागेका छन्। कुनकुन काम लाग्ने, कुनकुन काम नलाग्ने, कुनकुन मर्मत गर्न मिल्छ र कुन मिल्दैन भन्ने अध्ययन गर्न दिएका छौँ। एचसियुले दिने सेवा पनि आइसियुले दिने सेवा सरह नै हुने मेसु देवकोटाले जानकारी दिइन्। ‘खाली नाम फेरिएको मात्र हो’,  उनले भनिन्, ‘आइसियुकै नाम दिएर सेवा संचालन गर्न अझै थप मानव र भौतिक स्रोत साधनको कमी छ।’ ‘अहिलेको अवस्थामा अस्पतालको पूर्वाधार हेर्ने हो भने हामीसँग ठाउँको अभाव छ। र्‍याम्प बनाउने ठाउँ छैन।

 

विशेषगरी अस्पतालमा आइसियु संचालन गर्न आवश्यक पँहुच छैन। विभिन्न डिपार्टमेन्टको पहुँच हुनुपर्छ, त्यसअनुसारका विषेशज्ञ डाक्टरहरू चाहिन्छ, त्यहीअनुसारकै युनिट हुनुपर्छ। त्यो अहिले असम्भव छ’, मेसु देवकोटाले भनिन्, ‘अस्पतालमा अहिले एकरएक जना डाक्टर छन् तर विभाग छैन। आइसियु संचालन गर्दा जनशक्ति वृहत चाहिन्छ तर आइसियु भनौँ या एचसियु भनौँ, उद्देश्य एउटै हो। बिरामीलाई सकेसम्म यही सेवासुविधा उपलब्ध गराऔँ। सकेसम्म रिफर गर्न नपरोस् भन्ने सोचले एचसियु सेवा दिन्छु भनी लागिपरेका छौँ।

 

आइसियु नाम दिने हो भने त्यसका सबै पूर्वाधारहरू हुनुपर्ने मेसु देवकोटाको तर्क छ। ुअस्पताललाई केन्द्रीय तहको अस्पताल बनाउन केन्द्रीयस्तरकै सबै पूर्वाधारदेखि लिएर सामान र विशेषज्ञको पहुँच हुनुपर्छु, उनले भनिन्, ‘एचसियु संचालन गरेर अस्पतालको स्त्तोरन्नति गर्दै आइसियु संचालन गर्ने लक्ष्य हो। जिल्ला समन्वय समितिको आयोजनामा तीन महिनाअघि सम्पन्न छलफलमा जिल्लास्थित निर्वाचित संघीय संसदका सांसद, प्रदेशसभाका सांसद, नगरपालिकाका प्रमुख, उपप्रमुख, सरोकारवाला निकायका पदाधिकारीहरू र संचारकर्मीहरू तत्काल एचसियु संचालन गरेर तीन महिनापछि आइसियु संचालन गर्न सहमत भएको थियो।

 

आइसियु संचालन गर्न आवश्यक व्यवस्था मिलाउन एक समिति बनाउने सहमतिसमेत भएको थियो। त्यसअनुसार एचसियु संचालन गर्न आवश्यक तयारी स्वरूप करारमा पाँच जना स्टाफ नर्स पदपूर्ति गर्न सार्वजनिक सूचना जारी भई अन्तर्वार्ता हुने दिन मन्त्रालयले तत्काल प्रक्रिया अघि नबढाउन भन्दै रोक लगाएको थियो। मन्त्रालयले सोबारेमा आवश्यक छलफलपछि अहिले प्रक्रिया अघि बढाउन स्वीकृति दिएको बताइएको छ। अस्पतालको अवस्थाबारे सबै जानकारी गराई छलफल गरेपछि अहिले एचसियु संचालन गर्न मन्त्रालयबाट निर्देशन भइसकेको छ’, उनले भनिन्।

 

भक्तपुर अस्पतालमा एम्बुलेन्स छैन स्थापनाको एक शताब्दी पार गरिसकेको उपत्यकाकै दोस्रो जेठो सरकारी अस्पताल भक्तपुर अस्पतालमा एम्बुलेन्स सेवा छैन भन्दा पत्यार नलाग्ला तर वास्तविकता यही हो। वीर अस्पतालपछि ११५ वर्षअघि स्थापना भएको भक्तपुर अस्पतालले केन्द्रीय अस्पतालको मान्यता पाए पनि एम्बुलेन्स सेवा भने उपलब्ध गराउन सकेको छैन। भक्तपुर अस्पतालमा विगतमा एम्बुलेन्स सेवा उपलब्ध थियो।

 

अस्पतालमा भएको एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखालाई दिएपछि अस्पताल एम्बुलेन्सविहीन भएको हो। ‘विगतमा आफूसँग भएको एम्बुलेन्स रेडक्रसलाई किन दिइएको होरु मलाई थाहा छैन’, अस्पतालमा मेसु सुधा देवकोटाले भनिन्, ‘अहिले एम्बुलेन्स नहुँदा समस्या भइरहेको छ। अस्पतालले पटक पटक रेडक्रससँग उक्त एम्बुलेन्स फिर्ता माग्दा अहिलेसम्म फिर्ता आउन नसकेको डा। देवकोटाले जानकारी दिइन्। सरकारी अस्पतालमा एम्बुलेन्स नभएकै कारण अन्य संस्थाबाट महँगो रकम तिरेर सेवा लिन बाध्य भएको बिरामीहरूको गुनासो छ।

 

पछिल्लो समय जिल्ला समन्वय समितिले संचालन गरिरहेको एम्बुलेन्स अस्पताललाई दिने प्रस्ताव गरेको थियो तर अस्पताल प्रशासनले दुई जना चालकको भारसमेत लिनुपर्ने भएपछि उक्त एम्बुलेन्स लिन नसकिएको मेसु देवकोटाले बताइन्। ‘जिल्ला समन्वय समितिको एम्बुलेन्स अस्पताललाई दिने भन्ने कुरो थियो। त्यो एम्बुलेन्स अस्पतालमा ल्याएर दुई जना ड्राइभर पाल्नुपर्ने तर एम्बुलेन्सको क्षमता भने दुई जना ड्राइभर पाल्न सक्ने स्थितिमा छैन, उनले भनिन्, ‘अहिले प्रादेशिक सरकार आइसकेकाले सबैभन्दा पहिला प्रदेश सरकारसँग एम्बुलेन्स माग गरिएको छ।’ 

भक्तपुर अस्पताल

विशेष