News समाज प्रदेश ३

लामोसाँघु–जिरी सडकका ठेकेदार पक्राउ 

लामोसाँघु–जिरी सडकका ठेकेदार पक्राउ 

सिन्धुपाल्चोक । अरनिको राजर्मागअन्र्तगत सिन्धुपाल्चोकको खाडीचौरबाट सुरु हुने लामोसाँघु–जिरी सडकको निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीको कारण सडक स्तरोन्नति काम ढिलाइ भएको भन्दै निर्माण कम्पनीको ठेकेदारलाई पक्राउ गरेको छ। बुधबार दिउँसो चौतारा बजारबाट जिल्ला प्रहरी कार्यालयले निर्माण कम्पनीको ठेकेदार धर्मराज भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहन पोखरेलले जानकारी दिए।

 

खाडीचौरदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको ५५ किलोमिटर सडक पनि निर्माणाधीन अवस्थामा छ। यो सडकमा राजधानीबाट सिन्धुपाल्चोक हुँदै दैनिक दोलखा र रामेछापका हजारौँ यात्रु दैनिक आहोरदोहोर गर्ने गरेका छन्। सडक निर्माणमा भएको ढिलाइले कष्टपूर्ण तरिकाले यात्रा गर्न बाध्य भएका छन्। तर, निर्माण कम्पनीले ढिलाइ गरेकै कारणले सर्वसाधारले सास्ती खेप्न बाध्य भएका थिए।

 

एक्जिम बैंक अफ इन्डियाको लगानीमा नेपाल सरकारले बनाइरहेको यो सडक निर्माणको काम सक्ने लक्ष्य लिएको मिती पुरा भैसकेको छ।  तर, सडक निर्माणको ठेक्का लिइएको कम्पनीको ढिलासुस्तीका कारण सडक निर्माणको काम अझै अलपत्र परेको छ। खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटर सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले भदौदेखि काम रोकेको थियो।

 

३९ करोडको लागतमा बन्न लागेको यो खण्ड भारतीय कम्पनी हिमाञ्चल र नेपाली कम्पनी गौरी–पार्वती र सुनौला खिम्तीले ठेक्का लिएका थिए। एक्जिम बैंक अफ इन्डियाको लगानीमा नेपाल सरकारले बनाइरहेको यो सडक निर्माण गर्ने समय सकिएको चार महिना बितीसकेको छ। तर, सडक निर्माणको ठेक्का लिइएको कम्पनीको ढिलासुस्तीका कारण अझै महिनौँ लाग्ने सडक विभागका कर्मचारीहरू बताउँछन्। आयोजनाको पहिलो खण्डको ५० प्रतिशत काम सम्पन्न भएको छ। काम सम्पन्न नभएका कारण गत भदौमा यो खण्डको ठेकेदारको म्याद एक वर्ष थप भएको थियो।

 

दोस्रो प्याकेजको मुडेदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको काममा केही सुस्तता देखिए पनि काम भने सन्तोषजनक रहेको छ। ३० किलोमिटर खण्डको यो सडक भारतीय कम्पनी सकिल हैदर संगथको साझेदारीमा शंकर माली सुनौला खिम्ती नेपाली कम्पनीले ठेक्का जिम्मा पाएका हुन्। ७० करोड कुल लागत रहेको यो आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको छ। दोस्रो खण्डको समय अवधि ०७६ चैत मसान्तसम्म रहेको छ।

लामोसाँघु–जिरी सडक

विशेष