News देश प्रदेश २ प्रदेश ३

रक्सौल काठमाडौं रेलमार्गकाे प्रारम्भिक सम्भाब्यता अध्ययन सुरु

रक्सौल काठमाडौं रेलमार्गकाे प्रारम्भिक सम्भाब्यता अध्ययन सुरु

काठमाडौं । रक्सौलबाट वीरगञ्ज हुँदै काठमाडौं आउने करिब १ सय १३ किलोमिटर लामो रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययन शुक्रबारबाट  सुरु भएको छ । रेल्वे विभागमा बरिष्ठ इन्जिनियर प्रकाशभक्त उपाध्यायकाअनुसार  प्रारम्भिक सम्भाब्यता अध्ययन सुरु भएको हो । यसका लागि भारतीय रेल्वेका कन्सल्टेन्टहरु नेपाल आएका छन् । पहिलो चरणमा चोभारमा उनीहरुले रेल्वे स्टेशन रहने स्थान हेरेका छन् । अब यो टोली वीरगञ्ज पुगेर सम्भाब्यता अध्ययन अघि बढाउने उपाध्यायले बताए ।

 

सबै खर्च भारतीय पक्षले बेहोर्ने भएपछि रेलमार्ग अध्ययनका लागि विभागले अन्तिम चरणमा पुर्‍याएको कम्पनी छनोट प्रक्रिया पनि स्थगित गरिएको रेल विभागले बताएको छ ।  केरुङ हुँदै काठमाडौं आउने रेलमार्गसाग जोड्ने गरी यो रेलमार्ग बनाउन लागिएको विभागले बताएको छ ।  यो रेलमार्ग बनाउँदा करिब २० प्रतिशतसुरुङ र पुलमा निर्माण गर्नुपर्ने विभागले जानकारी  दिएको छ । 

 

रक्सौलबाट वीरगञ्ज, निजगढ र बागमती किनार हुँदै काठमाडौंसम्म आइपुग्ने रेलमार्ग केरुङ हुँदै काठमाडौंसम्म आउने रेलमार्ग भन्दा केही सहज तरिकाले निर्माण गर्न सकिने उपाध्याय बताउँछन् । प्रराम्भिक सम्भाब्यता अध्ययनको रिपोर्ट अबको ३ महिनापछि मात्रै आउनेछ । यसको डीपीआर निर्माणका लागि भने करिब थप १५ महिना लाग्नेछ । 

 

नेपालभारत दुई देशका प्रधानमन्त्रीका वीचमा एक वर्षभित्रै यसको सर्वे गरिसक्ने सहमति भएको छ । साथै यसको निर्माणका लागि डीपीआर र फन्डिङ मोडालिटी तयार गर्ने पनि सहमति भएको छ ।

काठमाडौं रेलमार्ग अध्ययन रक्सौल

विशेष