जेनेरेटर समस्या : कुलेखानीमा सातादेखि विद्युत उत्पादन बन्द
काठमाडौं । जेनेटरमा समस्या देखिएपछि कुलेखानी दोस्रो जलविद्युत आयोजनामा १६ मेगावाट विद्युत उत्पादन बन्द भएको छ । ३२ मेगावाट जडित क्षमताको कुलेखानी दोस्रो जलविद्युत केन्द्रको एउटा युनिट (१६ मेगावाट) को जेनेरेटरमा समस्या देखिएपछि विद्युत उत्पादन नै बन्द भएको आयोजनाले बताएको छ ।
युनिट दुईको जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’मा समस्या देखिएपछि करिब एक सातादेखि केन्द्रबाट १६ मेगावाट विद्युत उत्पादन बन्द भएको केन्द्रका प्रमुख आभाष ओझाले जानकारी दिए । उनका अनुसार उक्त जेनेरेटर मेशिन मर्मतका लागि उपकरण आपूर्तिकर्ता फुजी इलेक्टि«क कम्पनी अन्तर्गत जापानका प्राविधिक आगामी सोमबार कुलेखानी आयोजनामै आइपुग्ने भएका छन् ।
‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नु पर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत केन्द्रबाट ४६ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको छ भने ४६ मेगावाट बन्द छ । कुलेखानी दोस्रोको एउटा युनिट बन्द भएको अवस्थामा पहिलोलाई ६० मेगावाटमा चलाउँदा जलाशयको पानी खेर जाने भएकाले पहिलो पनि ३० मेगावाटमा मात्रै सञ्चालन गरिएको छ ।
कुलेखानी पहिलोबाट विद्युत उत्पादन गरी निक्लिएको पानीबाट दोस्रो विद्युत गृह सञ्चालन हुन्छ । कुलेखानीलाई अन्य विद्युत केन्द्रजस्तो २४ सै घण्टा चलाइँदैन । विद्युतको माग बढेका वेला आवश्यकताका आधारमा मात्रै सञ्चालन गरिने उनले बताए । कुलेखानी पहिलोमा ३०÷३० मेगावाटका दुईवटा र दोस्रोमा १६÷१६ मेगावाटका दुईवटा टर्बाइन छन् । अहिले दुवै विद्युत गृहका एउटा÷एउटा मात्रै टर्बाइन चलाइएको प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत सोमबार कुलेखानी दोस्रो विद्युत केन्द्रको स्थलगत निरीक्षण गरी मर्मतका लागि उपकरण आपूर्तिकर्ता कम्पनीलाई तत्काल बोलाउन केन्द्र प्रमुखलाई निर्देशन दिएका थिए । तर, शुक्रबारसम्म उक्त जेनेरेटरको मर्मत हुन सकेको छैन् । जेनेरेटर मर्मत पछि मात्रै बन्द भएको विद्युत उत्पादन शुरु हुने आयोजनाले बताएको छ ।
जेनेरेटर समस्या