लाभग्राहीको सूचीमा साढे ७ हजार थपिए : प्राधिकरण
काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जेठ महिनाभित्र ७ हजार ४ सय २२ पुनःनिर्माण लाभग्राही थप भएको बताएको छ । प्राधिकरणको गुनासो सुनुवाई कार्यक्रम प्रभावकारी भएसँगै लाभग्राहीमा समावेश हुनेको संख्या बढेको प्राधिकरणले बताएको छ । अहिले लाभग्राहीमा परेका भुकम्प पीडितको संख्या ७ लाख ७५ हजार १ सय २७ पुगेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।
उनका अनुसार प्रवलीकरण सूचीमा २९ हजार ४ सय ९३ जना सुचिकृत भएका छन् । करीब पौने आठ लाख लाभग्राहीमध्ये शुक्रबार विहानसम्ममा ७ लाख १८ हजार ९ सय ३ ले अनुदान सम्झौता गरेको उनले बताए । पुनःनिर्माण शुरु भएका ४ लाख ८१ हजार ४ घरमध्ये १ लाख ६२ हजार १ सय ८९ घरको पुनःनिर्माण पुरा भइसकेको बताइएको छ ।
दोस्रो किस्ता लिने समयावधि असार मसान्त नजिकिदै गर्दा घर निर्माण शुरु गरी दोस्रो किस्ता लिने लाभग्राहीको संख्या पनि उत्तिकै मात्रामा बढेको प्राधिकरणले बताएको छ । प्राधिकरणको एक तथ्याङ्कअनुसार घर निर्माण शुरु गरेर दोस्रो किस्ता लिने भूकम्प प्रभावित लाभग्राहीको संख्या ४ लाख २ हजार ६ सय १३ पुगेको छ । यो अनुदान सम्झौता गरेका लाभग्राही संख्याको ५६ प्रतिशत भएको प्राधिकरणले बताएको छ ।
दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या ४ लाख ३५ हजार ३ सय ४० पुगिसकेको छ । पहिलो किस्ता लिने लाभग्राहीको संख्या ७ लाख १० हजार ४३ पुगेको प्राधिकरणले जानकारी दिएको छ । तेस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्या १ लाख ७४ हजार २ सय ८ रहेको छ । तीमध्ये १ लाख ३७ हजार ७ सय ३१ ले तेस्रो किस्ता लिइसकेका छन् ।
जिल्लागत रुपमा हालसम्म सबैभन्दा धेरै सिन्धुपाल्चोकका ६८ हजार ३ सय ११ लाभग्राहीले दोस्रो किस्ता पाएका छन् । भूकम्पले सबैभन्दा बढी घर सिन्धुपाल्चोकमा भत्किएका थिए । भूकम्प प्रभावित लाभग्राहीले दोस्रो किस्ताबापत १ लाख ५० हजार पाउँछन् । तेस्रो किस्ताबापत १ लाख पाउने कार्यविधि छ । अनुदान सम्झौता गरेपछि पहिलो किस्तामा ५० हजार पाउने प्राधिकरणले बताएको छ ।
लाभग्राहीको सूचीमा साढे ७ हजार