अर्थमन्त्रीको निर्देशन : ‘अप्रत्याशित कारोबारलाई रोक्नुस्’
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले शेयर बजारमा हुने अप्रत्याशित कारोबारलाई रोक्न नियामक निकायका रुपमा रहेको धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् । बोर्डको २६ औं वार्षिकोत्सव समारोहलाई शुक्रवार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो निर्देशन दिएका हुन् । मन्त्री खतिवडाले अप्रत्याशित कारोबारले धितोपत्र बजारमा त्रास फैलाएको बताए । उनले त्यसका लागि नियामक निकायलाई चनाखो हुन निर्देशन दिएका छन् ।
जोखिम लिनेले पूँजी बजार र जोखिम नलिनेले ऋण बजारमा लगानी गर्न सक्ने उनले बताए । उनका अनुसार लगानीको दायरा फराकिलो पार्न सरकार क्रियाशिल रहेको छ । पूँजीबजार अर्थतन्त्रको ऐना भएको नेपाल राष्ट्र बैङ्कका गभर्नर चिरञ्जीवी नेपालले बताए । उनका अनुसार देशको आर्थिक विकासका लागि पूँजी बजारको विकास र विस्तार हुन जरुरी देखिएको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले धितोपत्र बजारको विकास र विस्तारका लागि बोर्डले निरन्तर काम गरिरहेको बताएका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपाली कम्पनीलाई नेपालको धितोपत्र बजारमा मात्रै नभएर देश बाहिरका धितोपत्र बजारमा पनि सूचीकरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
विमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र साउद, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छा लगायतको सहभागिता रहेको बोर्डले बताएको छ ।
अर्थमन्त्रीको निर्देशन