अन्तरवार्ता राजनीति भिडियो कभर स्टोरी

विश्लेषक आचार्यको ठोकुवाः प्रचण्डको राष्ट्रपति मोहले ओलीको समृद्धि धरापमा (भिडियाेसहित)

'याे समयमा कार्यकारी राष्ट्रपतिको कुरा गर्नु प्रचण्डको उत्ताउलोपना' 

विश्लेषक आचार्यको ठोकुवाः प्रचण्डको राष्ट्रपति मोहले ओलीको समृद्धि धरापमा (भिडियाेसहित)

काठमाडौं । यतिबेला संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कार्यान्वयन गर्ने सुरुवाती कार्य भइरहेको छ । यो व्यवस्थालाई सफल रूपमा कार्यान्वयन गरेर नेपाली जनताको वर्षौंदेखिको समृद्ध नेपालको सपना पूरा गर्ने हुँकार प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् ।

 

तर, सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भने वर्तमान शासकीय स्वरूप नै बदल्नु पर्ने( कार्यकारी राष्ट्रपति) बताउन थालेका छन् । यो विषयले नेपाली राजनीतिमा फेरि  तरंग ल्याएको छ ।

 

प्रचण्डको यो अभिव्यक्तिको आलोचना र समालोचन हुन थालेको छ । के यो समयमा प्रचण्डले कार्यकारी राष्ट्रपतिको विषय ल्याउनु उचित थियो ? पूरा होला त प्रचण्डको कार्यकारी राष्ट्रपति बन्ने चाहना ? यस्तै सरकार र प्रतिपक्ष दलको सय दिन साथै नेपाली कांग्रेसको आगामी यात्राबारे राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसँग नेपालआजका लागि लोकेन्द्र भट्टले गरेको विशेष अन्तर्वार्ता ।


विश्लेषक आचार्यले अन्तर्वार्ताकाे क्रममा शासकीय स्वरूप परिवर्तनबारे प्रचण्डले दिएको अभिव्यक्ति समयानुकूल नभएको बताए । उनले भने, ‘भर्खरै सबै तहको निर्वाचन भएर बल्ल देशमा स्थिर सरकार बनेर खुसी नेपाली र समृद्ध नेपालको नारा लगाइरहेका बेला फेरि शासकीय स्वरूप परिवर्तन गर्छु भन्नु समय सुहाउँदो तर्क हैन ।’

 

स्थिर र बलियो सरकाबाट केही हुन्छ कि भन्ने जनताको आशा रहेको भन्दै यसले फेरि निराश बनाउने उनको बुझाइ छ ।बहुमतको आडमा यस्तो हर्कत गरिएको खण्डमा जनतामाथि बेइमानी हुने उनी बताउँछन् । 

 

‘प्रचण्ड र ओलीले स्थिर सरकार र समृद्धिका लागि जनतासँग मत मागेका थिए । कुनै शासकीय स्वरूप परिवर्तन थिएन । त्यसैले अबको पाँच वर्ष विकास र समृद्धिको लागि पर्नुपर्छ’, आचार्यले भने ।

 

प्रचण्डले यतिबेला उठाएका कार्यकारी राष्ट्रपति प्रणालीको बहस नेपाली कांग्रेसले नै सबैभन्दा पहिले बहसमा ल्याएको उनी बताउँछन् । यो प्रणाली गलत हैन । तर, प्रचण्डले गलत समयमा बहस गराउन खोज्नु उत्ताउलो भएको आचार्यकोे बुझाइ छ ।

 

उनले भने, ‘कार्यकारी राष्ट्रपति बन्ने प्रचण्डको व्यक्तिगत महत्वाकांक्षा हुन सक्छ । तर, नेपाली जनताको चाहना र समयको माग हो कि हैन, यसबारे प्रचण्ड जस्तो नेताले बुझ्न जरुरी हुन्छ ।’ 


सरकार र प्रतिपक्षका सय दिन

ओली नेतृत्वको सरकार तयारीबिना सत्तारोहण गरेको भन्दै सय दिनमा गर्नै पर्ने तीन कार्यहरूमा चुकेको आचार्यले बताए । उनले भने, ‘शासकीय सुधारात्मक कदमहरूको ओली सरकार नीतिगत सुधारतर्फ गर्ने कुरामा चुक्यो ।

प्रधानमन्त्रीको सुखी नेपाली समृद्ध नेपालको नारा नीतिगत सुधारबाट मात्र सम्भव छ । तर, सय दिनको अवधिमा एउटा पनि क्रान्तिकारी काम गर्ने संकेत सरकारले देखाउन सकेन ।’ सय दिनको अवधिमा सरकारले जुन खालको गति लिनुपर्ने थियो त्यो अनुसारअगाडि बढ्न नसकेको उनी बताउँछन् ।

 

‘वर्तमान सरकार कम्युनिस्ट नेतृत्वको हो भन्ने झल्कोसमेत छैन । नेपालमा दुईथरी नेपाली छन् । पहिलो सत्तासँग पहुँच भएका र अर्को सत्तासँग कुनै पनि पहुँच नभएका । के विश्वास गरिन्थ्यो भने सत्तासँग कुनै पहुँच नभएका आम नेपालीको सत्ता कम्युनिस्ट सरकारको निर्माणसँगै सुरु हुनेछ भनी । तर, देखिएन’,  उनले भने ।

 

सरकारले सय दिनमा शिक्षा र स्वास्थ्यमा एकरूपता ल्याउने नीति अगाडि सारिसक्नुपर्ने भन्दै उनले यो नगरेर नेपालमा शान्ति र समृद्धिको सपना बाँड्नु भनेको हावादारी गफ मात्र भएको बताए ।

 

प्रदेश र स्थानीय सरकारलाई शक्तिशाली र सम्पन्न बनाउने भन्नेतर्फ ओली सरकार उदार नदेखिएको उनको ठम्याइ छ । उनले अहिले नै ओली सरकार  काम नलाग्ने अवस्थामा पुगिसक्यो भनेर छिचोल्नु उपयुक्त नभएको पनि बताए ।

 


प्रतिपक्ष

गएका सय दिनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भूमिकामा निरीह देखिएको आचार्यले बताए ।
उनले भने, ‘कांग्रेस डिप्रेसनबाट अझैँ मुक्त हुन सकेको छैन भन्ने कुरा सय दिनको गतिविधिले पुष्टि गर्छ ।  

दुई तिहाइसहितको कम्युनिस्ट सरकारसँग नेपाली कांग्रेस भयग्रस्त मानसिकताबाट उठ्न नसकेको आचार्यको बुझाइ छ । कांग्रेसका केन्द्रदेखि सातै प्रदेशमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने नेता नै नभएको उनी बताउँछन् ।


उनले भने, ‘प्रतिपक्ष दलको नेताले सरकारमा भइरहेका गलत गतिविधि जनतासामु पस्किनु पर्छ । तर, त्यसो हुन सकेको छैन । प्रतिपक्षी भनेको नै गगन एन्ड कम्पनी हो कि जस्तो भएको छ ।’


कांग्रेसको भविष्य

स्थानीय, प्रदेश र संघको निर्वाचनमा पराजयको समीक्षा गर्ने सन्दर्भमा कम्युनिस्ट मिल्दा कांग्रेस हा¥यो भन्ने समीक्षा हुनु लज्जाको विषय भएको आचार्यले बताए ।

उनले भने, ‘कांग्रेस तीन थरीका छन् । परमोसन, छाताधारी, र परफरमेन्स । परमोसन र छाताधारीले डिप्रेसनमा रहेको कांग्रेसको उपचार गर्न सक्दैनन् । युवामा ठूलो सम्भावना रहेको छ । उनीहरूलाई अगाडि ल्याउनुपर्छ कांग्रेसको उपचार गर्न ।’

 

कांग्रेसलाई पुनर्जीवन दिन नेतृत्वमा चार गुण हुन आवश्यक रहेको उनको बुझाइ छ । उनका अनुसार अबको समय गगन थापाका लागि उपयुक्त रहेको छ ।

 

‘गगनले समयानुसार एजेन्डा उठाउन सक्ने क्षमता राख्छन् ।’ आचार्यले भने, ‘मास तताउन पनि सक्छ । ऊर्जावान् भएकाले देश दौडाह गर्न सक्ने र मिडियाको राम्रै साथ रहेकाले उनलाई अगाडि ल्याउँदा आसा गर्न सकिन्छ ।’

 

उनले थपे, ‘रामचन्द्र पौडेल र शेखर कोइरालाले गगनलाई साथ दिएमा निकट भविष्यमै सुधारको संकेत देख्न सकिने उनको भनाइ छ । वर्तमान सभापति शेरबहादुर देउवाबाट कांग्रेसको पुनर्जीवन हुनै नसक्ने उनले दाबी गरे ।

प्रचण्ड सरकार गगन थापा शेरबहादुर देउवा कार्यकारी राष्ट्रपति प्रतिपक्ष पुरञ्जन आचार्य

विशेष